लगातार तेस्राे जितसहित नेपाल सेमिफाइनलमा

 असार ६, २०७९ सोमबार १३:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – नेपाली महिला क्रिकेट टाेली मलेसियामा भइरहेकाे एसीसी महिला टी–२० च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज साेमवार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको किनरारा ओभलमा वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्दा अन्तिम चारको यात्रा तय भएको हो ।

१५ रनको सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले चार रन बनाउँदा कविता जोशीले तीन रन बनाइन् । बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक/एक विकेट लिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो ।

बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका लागि कविता कुँवर र सबनम राईले दुई/दुई विकेट लिए । 

जितसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । अब अन्तिम खेलमा नेपालले हङकङसँग भाेलि मङ्गलवार खेल्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले र दाेस्राे खेलमा कुवेतलाई २५ रनले हराएकाे थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया