तनाव कम गर्न प्रहरीलाई याेगाभ्यासकाे महत्त्व छ : गृह मन्त्री खाण

 असार ६, २०७९ सोमबार १५:५४:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताउनुभएको छ ।  

आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गर्नुभयो । 

गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी बहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योगाभ्यासको धेरै महत्त्व रहने विचार व्यक्त गर्नुभयो । 

उहाँले ‘मानवताका लागि योग’ भन्ने नारालाई आत्मसात् गरी समाज र देशको हित तथा विकासमा आफूलाई समर्पित गर्न पनि आग्रह गर्नुभयो । उहाँले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर तथा मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गर्नुभयो ।

योगाभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवम् व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘योग एवम् आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो ।’ 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योगाभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी शारीरिक विकारबाट मुक्ति दिलाउन मद्दत गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया