पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था छ : मन्त्री बडू

 असार ६, २०७९ सोमबार १६:२८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभएको छ । 

आज सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकारले बाध्य भएर यता पनि बढाउनुपरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ, त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौँ । त्यसमा सरकारले लगाएको करलाई कम गरेर उपभोक्तालाई कम गर्ने हो । प्रतिलिटर पेट्रोल र डिजलमा १० रुपैयाँ घटाएका छौँ । त्योभन्दा बढी घटाउने अवस्थामा सरकार पनि रहेन । असार २ गते आएको मूल्यअनुसार २०९ रुपैयाँ २८ पैसामा खरिद गर्नुपरको छ । त्यसमा १० रुपैयाँ घटाएर १९९ पुगेको छ । हामीले खाना पकाउने प्रयोग गर्ने एलपी ग्यासमा भने मूल्य बढाउन दिएका छैनौँ । अहिले प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरेबापत भारतलाई २२ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’

उद्योगमन्त्री बडूले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्ने गरी आएको दाबी गर्नुभयो । उहाँले अहिले नेपालमा भएका राष्ट्रिय उद्योगहरू ७० प्रतिशतभन्दा बढी क्षमतामा चल्न नसकेको अवस्था रहेको उल्लेख गर्नुभयो । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आएमात्रै राष्ट्रिय उत्पादन बढ्ने उहाँको भनाइ छ । 

उद्योग मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले चिनी उद्योगको संरक्षण गर्ने नाममा भन्सार दर बढाउँदा बजारमा मूल्यवृद्धि भएको दाबी गर्नुभयो । मूल्यवृद्धि कम गर्नका लागि सरकार आफैँले चिनी आयात गरेर बजारमा उपभोक्ता माग पु¥याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । 

सरकारले किसानहरूलाई सहजै मल उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले त्यसका लागि भारत सरकारसँग कुराकानी भएको र भारत नेपाललाई चाहिने मल दिन तयार भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया