पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु भनेकाे संसद्काे अपमान हाे : ज्ञवाली

 असार ६, २०७९ सोमबार १८:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसद्को अपमान गरेको बताउनुभएको छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने वचन दिएको भए पनि त्यसलाई लत्याउँदै मूल्यवृद्धि गर्नुले संसद्को समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो । 

आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पदार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा मौखिक रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो । संसद्को स्पष्ट निर्देशन र सदन समक्ष अर्थ मन्त्रीले बजेट वक्तव्य पेस गर्दा बोलेको कुरालाई समेत लत्याउँदै मूल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो । त्यसैले हामीले त्यही गम्भीरताका साथ यो विषय उठाएका हौँ । कमसेकम एउटा कर हट्दा पनि थोरै भए पनि राहत हुन्छ । आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मूल्य घटाउन सकिन्छ । यो काम नगरिकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ ।’

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरूले आवाज उठाएको भन्दै सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Matrika Bhattarai

    June 20, 2022, 9:27 p.m.

    अब नेपाल ले दीर्घकालीन रुपमा रहेर काम गर्ने अवस्था आएको छ। अब आउने भविष्य हेरेर डिजल, पेट्रोल निर्यात गर्ने साउदी कतार जस्ता देश हरुले समेत डिजल पेट्रोल को विकल्प खोजिरहेका छन्। किनभने पृथ्वीमा यी सबै वस्तु हरु सकिदै गएको वैज्ञानिकहरूले दाबी गरेका छन्। र त्यसको विकल्प भनेको हाइड्रोजन ग्याँस हो। यदि हामी डिजल पेट्रोललाई नै प्राथमिकता मा राख्ने हो भने देश पनि अगाडी बढ्न सक्दैन र भविष्यमा डिजल पेट्रोल अहिले को वाउ 4 गुणाले बढ्न सक्छ त्यसैले यसको विकल्प खोज्न एकदम जरुरी छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया