फुटबल खेलाडी म्याराडोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

 असार ९, २०७९ बिहिबार १०:४७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुबाको उपचारबारे दुई जना छोरीहरुले चासो व्यक्त गरेका थिए । त्यसअघि मस्तिष्कको शल्यक्रिया गराएका म्याराडोनाको स्वास्थ्यमा सुधार भएको थियो । तर निधन भएको केही दिनपछि अर्जेन्टिनाका अभियोजनकर्ताले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।

छानबिन समितिले उपचारमा कमजोरी र अनियमितता देखिएको पाएपछि एक न्यायाधीशले मुद्दा चलाउन आदेश दिएका हुन् । मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुई जना नर्सलगायत रहेका छन् । तर आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन् ।

यो अभियोग पुष्टि भएमा उनीहरुले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्नेछ । मुद्दाबारे सुनुवाइको समय तय नभइसकेको समाचार संस्था रोयटर्सले जनाएको छ । डिएगो म्याराडोनालाई विश्वका सर्वकालीन महान फुटबल खेलाडीमध्ये एक मानिन्छ । सन् १९८६ मा अर्जेन्टिनाले विश्व कपको उपाधि उचाल्ने बेला उनी राष्ट्रिय टोलीका कप्तान थिए ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया