मन्त्री हेरफेरबारे एकीकृत समाजवादीमा विवाद बल्झियो : तत्काल संसदीय दलको बैठक बोलाउन चार मन्त्रीसहित १० सांसदको माग

 असार १०, २०७९ शुक्रबार १२:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख छ । साथै आफूहरुलाई सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको टिप्पणी पत्रमा गरिएको छ ।

स्थायी कमिटीको बैठकमा समेत गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत आजै/भोलि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब राम्रो मान्न नसकिने पनि पत्रमा उल्लेख छ ।

हिजो बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि मागमा समर्थन जनाउनुभएको छ । पार्टीको निर्णयलाई मन्त्रीहरूले चुनौती दिएपछि एकीकृत समाजवादीभित्र विवाद थप बढेको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया