म्याग्दीकाे एउटै पालिकामा २ सय १६ पहिराे

 असार ११, २०७९ शनिबार ९:२९:७ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - म्याग्दीको एउटै गाउँपालिकामा रहेका २ सय १६ वटा पहिरो कारण बस्ती जोखिममा परेका छन् । 

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २ सय १६ पहिराे रहेका र ती पहिराेका कारण बस्ती नै जोखिममा परेका हुन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

'गाउँपालिकाभित्र २ सय १६ वटा पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौँ', रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो, 'कुइनेमङ्गले–८ मा रहेको चौरखानी, चिमखोलाको–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामको लागि मुख्य प्राथमिकतामा रहेको छ ।'

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिराेको उच्च जोखिममा रहेका छन् । ती बस्तीको संरक्षणका लागि पालिकाले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।   

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जनभन्दा बढी बस्ती बाढी र पहिराेको उच्च जोखिममा रहेका स्थानीयवासीसमेत रहनुभएका नेकपा एमाले म्याग्दीका युवा नेता दीपक कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो,  'बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहने यहाँका बासिन्दा रातमा राम्रोसँग निदाउन पनि नपाउने समस्या रहेको छ, गाउँपालिका सधैँ आश्वासन बाँड्छ काम गर्दैन ।'

यसैगरी ५२ घर रहेको रघुगङ्गा ८ चौरखानीमा अहिले ३० परिवारको बसोबास छ । पहिरोको त्रासकै कारण आधाले घर छोडेर बेनी, पोखरा, काठमाण्डौलगायतका ठाउँमा गएर बसेका छन् । गएकाे वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिराेले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केका वडासदस्य यामकुमारी घर्तीले बताउनुभयो ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिनुभयो । 

यस्तै रघुगङ्गा ३ मा रहेकाे गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाही निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभाबी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताउनुभयो । बर्सात हुने बित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभाबी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयममा नबन्दा पूरै पाखो खस्न थालेको छ । वर्षौँदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताउनुभयो ।

दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । वर्षासँगै आउने बाढीले बाटो बन्द हुँदा खाद्यान्नलगायतका सामग्री भरिया लगाएर लानुपर्दा गाउँमा खाद्यान्न सामान महँंगो हुँदै गएको छ । बिरामी बोेकेर आएका एम्बुलेन्स तथा गाडी भासिने गर्दै आएका छन् ।

सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा छ । बेनीदेखि उत्तरी क्षेत्रको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङको सीधा यातायातलाई बगिरहने पहिरोले अवरोध बनाउँदै आएको छ । निर्माण व्यवसायीको लापरबाहीले उत्तरी भेगका जनताले सास्ती खेप्नुपरेको छ ।

यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् । गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खण्ड खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो ।

चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो तर अहिले त्यसको कुनै नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।

गाउँपालिकाभित्र रहेका सबै २ सय १६ वटा पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र पालिकाले पनि पहिरो नियन्त्रण तथा रोकथामका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया