सिस्ने राउण्डमा आकर्षक आधुनिक काठेपुल निर्माण

 असार ११, २०७९ शनिबार १३:३७:२० | राजु लामिछाने
unn.prixa.net

सिस्ने गाउँपालिका १ ठूलाभेरा खोलामा बनाइएको आधुनिक काठको पुल ।

रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिका १ मा रहेको सिस्ने हिमाल पुग्नको लागि तय गरिएको सिस्ने राउण्डमा आठ वटा आधुनिक काठेपुल निर्माण गरिएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रमा तीन वटा, बाँफिकोट गाउँपालिका क्षेत्रमा तीन वटा र रुकुम पूर्वको सिस्ने गाउँपालिका क्षेत्रमा दुई वटा आधुनिक काठेपुल निर्माण गरिएको हो ।

जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाले पालिका तहसँगको सहकार्यमा पुलहरु निर्माण गरेको हो । कोरोना कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन र परेको असरलाई सम्बोधन गर्न आधुनिक काठे पुलको अवधारणा ल्याएर कार्यान्वयन गरिएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताउनुभयो । पर्यटनकर्मीहरुको सहभागिता रहने गरेर यस्तो योजना अघि सारेको उहाँले जनाउनुभयो । 

आठबिसकोट २ को देउती खोलामा बनाइएको काठको आधुनिक पुल ।

आठबिसकोट नगरपालिका १ को देउतीखोला, ६ नम्बर वडाको रिजागाड खोला र मल्ल्लीखाना खोलामा आधुनिक काठेपुल निर्माण गरिएको छ । त्यसैगरी रुकुम पूर्वको सिस्ने गाउँपालिका १ स्थित ठूलाभेरा खोला र सानाभेरा खोलामा पनि उक्त पुल बनाइएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ बडगाड खोला र ज्यामिरखोला, वडा नम्बर १० को भङखोलामा पुल निर्माणको अन्तिम काम चलिरहेको छ । जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना, स्थानीय तह र जनश्रमदान सहित ६ लाख बराबरको रकममा एउटा पुल निर्माण भएको परियोजनाले जनाएको छ । यी आधुनिक काठेपुलहरुकोकरिब २५ वर्षको आयु रहने परियोजना जीविकोपार्जन विज्ञ दवाडीले बताउनुभयो ।

आधुनिक काठे पुल निर्माणको कामले थला परेको पर्यटनलाई उकास्न र आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बाँफिकोट गाउँपालिका २ का मनबहादुर खत्रीले बताउनुभयो । पर्यटनकर्मी समेत रहनुभएका खत्रीका अनुसार सस्तो, पर्यटनमैत्री र स्थानीय श्रोतको प्रयोग मार्फत आधुनिक काठेपुलहरु निर्माण भएकाछन् । यी पुलहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण समेत गरेका छन् ।

 आठबिसकोट ६ को रिजागाड खोलामा बनाईएको काठको आधुनिक पुल । 

सिस्ने राउण्डमा सरकारको लगानी सुरु

पुल निर्माणको काममा मध्यस्थता गरिरहनुभएका पर्यटनकर्मी मनबहादुर खत्रीले सिस्ने राउण्डमा सरकारले लगानी सुरु गरेको बताउनुभयो । उहाँले लामो समयसम्मको समन्वय तथा सहकार्यपछि पालिकाले लगानी सुरु गरेकोमा खुशी व्यक्ति गर्नुभयो । उहाँले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाले अघि सारेको आधुनिक काठे पुल निर्माणको सह लगानीसँगै अब पालिकाले पर्यटन क्षेत्रमा लगानी गर्ने विश्वास जागेको बताउनुभयो । सिस्ने हिमाल पुग्न तीन ओटा बाटोको परिकल्पना गरेर सिस्ने राउण्ड तयार गरिएको हो । रुकुम पश्चिमको आठबिसकोट, बाँफिकोट र रुकुम पूर्वको सिस्ने गाउँपालिका क्षेत्रबाट सिस्ने राउण्ड सुरु गर्न सकिने खत्रीले बताउनुभयो ।

‘हामी सिस्ने राउण्डको नक्शाको काम चाँडै टुंग्याउँदै छौ,’ खत्रीले भन्नुभयो, ‘सिस्ने राउण्डमा ८० देखि ९० किलोमिटर दुरी पर्छ ।’ उहाँले सिस्ने राउण्डको ३० स्थानमा पुलको आवश्यकता रहेको समेत उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया