संसदमा गणपूरक सङ्ख्या पुगेन, मन्त्रीको प्रस्ताव पारित भएन

 असार १२, २०७९ आइतबार १६:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रतिनिधि सभा बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन । बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन नसकेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद झपट रावलले प्रतिनिधि सभा सदस्यको गणपूरक सङ्ख्या नपुगेको र यस्तो अवस्थामा प्रस्ताव पारित गर्दा नियमावली विपरीत हुने भन्दै निर्णयार्थ पेस गर्नुअघि गणपूरक सङ्ख्या गणना गर्न माग गर्नुभएको थियो । 

लगत्तै सभामुख सापकोटाले प्रतिनिधि सभा सदस्यहरूको गणपूरक सङ्ख्या गणना गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । गणपूरक सङ्ख्या गणना हुँदा प्रस्तावलाई निर्णयार्थ पेस गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै उपस्थिति देखिएकाले सङ्ख्या अपुग भएको भन्दै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । 

प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्यहरू पूरा समय नबस्ने गरेको विषयमा विभिन्न समयमा आलोचना हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया