नेपाल कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश गर्दैन : परराष्ट्र मन्त्री खड्का

 असार १३, २०७९ सोमबार १३:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताउनुभएको छ । 

आज सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुने गरी कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभएको हो । उहाँले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय हित र नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिको विपरीत हुने गरी कुनै सामरिक वा रणनीतिक गठबन्धनमा नेपाल प्रवेश नगर्ने यस सदनमा जानकारी दिन चाहन्छु । सरकारले अवलम्बन गरेको नीतिको फलस्वरूप अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढेको छ । छिमेकी मित्रराष्ट्र, दक्षिण एसियाली देश, प्रमुख शक्तिराष्ट्र, विकास साझेदार लगायत सबै राष्ट्रसँगको सम्बन्ध अझ मैत्रीपूर्ण एवम् सहयोगात्मक बनेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको छ ।’

मन्त्री खड्काले अन्तर्राष्ट्रिय सीमाको नियमित रूपमा निरीक्षण गर्ने गरी सरकारले कार्यक्रम तय गरेको बताउनुभयो । उहाँले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल–भारत सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कुटनीतिकस्तरमा वार्ताको प्रयास भइरहेको उल्लेख गर्नुभयो । 

उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधीनता, सीमानाको सुरक्षा र सीमा व्यवस्थापनजस्ता विषयहरूमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया