दाङकाे नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुल्याे

 असार २०, २०७९ सोमबार १२:५४:२ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ - दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ ।

नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागहरुमध्ये आधाभन्दा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो ।

सहमति अनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकूलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत् रहेको नेपाल विद्यार्थी सङ्घले जनाएको छ ।

विद्यार्थीहरुको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासकीय कार्य सञ्चालनलाई अवरोध नगर्ने उद्देश्यअनुसार दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको नेपाल विद्यार्थी सङ्घ नेपाल संस्कृत विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक चोलेन्द्र रिजालले जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी सङ्घले राखेका मागहरु विश्वविद्यालयले तीन महिनाभित्र दीक्षान्त समारोहको आयोजना गर्नुपर्ने, विद्यापीठमा प्रात एवम् समकालीन कक्षाको व्यवस्था गर्नुपर्ने, छात्रावाससँगै लाइब्रेरीलाई व्यवस्थित गर्दै ई–लाइब्रेरीका रुपमा व्यवस्थित गर्नुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्नेलगायतका मागहरु सम्बोधन भएपछि कार्यालयको मूलगेटमा लगाएको ताला खोलिएको बताउनुभयो।

उहाँका अनुसार विद्यार्थीहरुको छात्रवृत्ति २०० प्रतिशतले वृद्धि गर्नुपर्ने, अवैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षीय माग सम्बोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुनर्गठनसहित विश्वविद्यालयमा हुने आर्थिक अनियमितता छानबिनका लागि समिति गठन गर्नुपर्ने र नेविसङ्घकाे नर्सरीका रुपमा गुरुकुलहरुमा प्रक्रियाबद्ध ढङ्गबाट स्थायी प्राध्यापकको तत्काल व्यवस्था गर्नुपर्ने मागमा सहमति हुन नसक्दा सङ्घर्ष समितिले पदाधिकारीहरुको कार्यकक्षमा भने तालाबन्दीलाई गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया