गल्ती गरेको छैन, हजारौँ छानबिन समितिको पनि सामना गर्न तयार छु : शर्मा

 असार २२, २०७९ बुधबार १६:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले आज बुधवार राजीनामा दिनुभएको हो । 

उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । 

प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै गल्ती नगरेको जिकिर गर्नुभएको छ । उहाँले देश र नागरिकको हितमा बजेट ल्याएकै कारण अनैतिक काम गरेको आरोप लागेको दाबी गर्नुभयो । नेकपा एमालेले विगतमा गरेको आफ्ना कर्तुत लुकाउन वा ओझेलमा पार्न अहिले नचाहिने हल्ला चलाएको शर्माले आरोप लगाउनुभयो । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई आरोप लगाइएको भन्दै मन्त्री शर्माले छानबिन समितिलाई आफूले सहयोग गर्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘छानबिन समितिले आफ्नाे काम गरोस्, बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन । स्थापित मान्यता र तोकिएका आधिकारिक व्यक्ति राखेर बजेट निर्माण गरिएको छ । करको दर हेरफेर गर्ने सन्दर्भमा मन्त्रायलका दुई जना सचिव र दुई जना महानिर्देशकलाई मार्ग निर्देशन दिएको हो, आम नागरिकको पक्षमा बजेट आएको विषय कसैलाई सैह्य भएको छैन ।’

उहाँले मन्त्रालयको सीसीटीभी फुटेजको विषयमा आफूलाई मुछ्नु दुःखद भएको बताउनुभयो । एउटा मन्त्रीलाई सीसीटीभीको विषय कसरी थाहा हुन्छ भनेर उहाँले प्रश्न गर्नुभयो ।

‘कुन सीसीटीभीको क्षमता कति छ र कहिले राखेको भन्ने विषय मन्त्रीलाई थाहा हुन्छ ? अरू मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको सीसीटीभीको बारेमा जानकारी छ ? यो संसद् भवनमा कति क्षमताका क्यामेरा छन्, माननीयहरूलाई थाहा छ त ?’ शर्माले भन्नुभयो । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया