नेपाली श्रमिकका पीडा : खाडीको कमाइले पुगेन, युरोप जान बाध्य

 असार २६, २०७९ आइतबार १८:१:५५ | नारायण कोइराला
unn.prixa.net

देशमा ठूलो राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तनसँगै देशमा रोजगारीको अवसर सिर्जना हुन्छ भन्ने सबैको आशा थियो । तर आशा गरेजस्तो भएन । आशा निराशामा परिणत भयो ।

यहाँ रोजगारी सिर्जना हुने कुरामा त विश्वास नै छैन । भएका उद्योगधन्दा पनि बन्द हुने अवस्थामा छन् । धेरैजसो बन्द भएका पनि छन् । उद्योग नहुँदा रोजगारी भएन । त्यसैले देशमा रोजगारीका अवसर नभएपछि युवाहरु श्रमिक बनेर विदेशमा श्रम बेच्न बाध्य छन् । 

सरकारले प्रत्यक्ष्य नभने पनि अप्रत्यक्ष रूपमा विदेश नै जाउ भन्ने नीति लिएको देखिन्छ । यदि यस्तो हुँदैन थियो भने सधैं रेमिटेन्सका लागि चिन्ता नगरी हामी रोजगार दिन्छौँ स्वदेशमै फर्कौ भन्थ्यो होला नि सरकारले पनि । 

विदेश पठाउने नीति त छँदै छ तर विदेश श्रम बेच्न जान चाहनेहरुलाई पनि त्यति सजिलो कहाँ छ र ? एकातिर मेनपावरको रुपमा लुट छ । अर्कातर्फ सरकार मौन । यसको अर्थ दुवैतर्फबाट च्यापिने भनेको श्रमिक नै हो । सम्झौता र प्रकिया एकातिर छ । श्रमिक पठाउने तरिका भने मेनपावरको रुपमा ठगी धन्दा गर्नेको हातमा छ । यहाँनिर एउटा प्रश्न उठ्छ । यदि मेनपावरले मनमर्जी ठगी गर्दैछन् भने श्रमिक तिनका पछि लागेर श्रम बेच्न किन विदेश जान्छन् ? यो अनुत्तरित र गम्भीर प्रश्न हो । श्रमिकको लागि बाध्यता हो भने, सरकारको नीतिलाई जिस्काउने आधार पनि हो ।

आखिर देशमा भएको परिवर्तनले के दियो श्रमिकलाई ? खाडी, मलेसिया, युरोपको रोजगारी न हो । केही पछाडि फर्किएर हेर्ने हो भने आफ्नै देशमा गरी खाने अवस्था थियो । श्रमिकहरु खाडीमा जाने सपना कमै देख्ने गर्थे । श्रमिकहरु खेतबारीमा रमाएको देख्न पाइन्थ्यो । जब जब राजनीतिक परिवर्तनको लागि देशमा शान्ति भन्दा अशान्ति बढी भयो, त्यो समयले नेपाली श्रमिकलाई खाडी जान बाध्य तुल्यायो । माओवादीको द्वन्द्वले त झनै युवाहरुलाई खाडी जानै पर्ने बाध्यता सिर्जना गर्यो । हामी यता युद्धमा होमिदै थियौँ । श्रमिकहरु भने बाध्यात्मक रुमा खाडीको बालुवालाई हरियालीमा बदल्दै थिए । पसिनाको मूल्य जति पाए पनि आफ्नो ज्यान सुरक्षा र घरमा रहेकाहरुको पेट भर्नैकै लागि उनीहरु रातदिन मिहनेत गर्दै थिए । बाध्यतामा परेपछि श्रमिकले जस्तोसुकै श्रम गर्नुपर्दो रहेछ भन्ने कुरा नेपाली श्रमिकले खाडीमा बुझिसकेका थिए । जुन बाध्यता नै थियो । आफ्नो र स्वदेशमा रहेका परिवारको लागि ।

दश वर्षे जनआन्दोलनपछि देशमा शान्ति छायो । अब त खाडीका श्रमिकको पनि आशा पलायो । देश फर्किएर केही गर्न सकिन्छ की भन्ने लाग्यो धेरैलाई । तर त्यो आशा पनि बालुवामा पानी खन्याए झै भयो । त्यसपछि देशमा के भयो ? क्रान्ति गर्नेहरूको शरीरमा गोली र छर्राका निशान रहे । यतिमात्र कहाँ हो र ? कतिपए त शरीरमा गोली लिएर अहिलेसम्म हिँड्दै गरेको सुन्न पाइन्छ । त्यसको विपरीत क्रान्तिका मुखियाहरु आज सानका साथ कुर्सी मोहमा लुटपुट छन् । 

यस्तो अवस्था देखिपछि खाडीका श्रमिकहरु आफैमा अलमल भएका छन् । देशमा गएर आफू र आफ्नो बालबच्चालाई भोक, रोग, शोकबाट कसरी बचाउने भन्ने समस्या त छ नै । सरकारबाट त के आश गर्ने हो र खोइ भन्ने श्रमिक धेरै छन् । 

वास्तवमा भन्ने हो भने श्रमिकहरुमा अलमल छ । आफ्नो देशको अवस्थासँग श्रमिक ढुक्क हुन सकेका छैनन् । कोरोना महामारीपछि खाडीमा पनि सोचे जस्तो छैन । उमेर बढी भएकालाई नेपाल आएर पुनः अर्को जागिर खोज्न अप्ठेरो नै छ । 

पेटले सरकार कस्तो छ, देशमा के अवस्था छ भन्ने कुरा बुझ्दैन । बुझ्नु त श्रमिकले नै पर्छ । नेपाल गएपछि जेजस्तो भए पनि सहन्छु भन्ने सोचेर जानुपर्छ । होइन भने अर्को विकल्प खोज्नु पर्छ । जसरी अहिले नेपालीहरु युरोपको रोजगारीमा गइरहेका छन् । अहिले यूरोप जाने श्रमिकको लहर छ । उमेरको हदबन्दी नहुने हुँदा खाडीबाट श्रमिकहरु युरोपतिर जानु स्वभाविक पनि हो । 

खाडीमा यत्रो समय बिताएपछि पनि फेरि स्वदेश फर्कन भन्दा झन् युरोपेली देश जान किन बाध्य छन् त श्रमिक ? यसरी पैसा नभए खाडी, भए युरोपेली देशको रोजगारीमा गइरहन बाध्य पार्ने जुनसुकै सरकार र व्यवस्थालाई श्रमिकले माफ गर्ने छैनन । यो गम्भीर अवस्था हो । देशमा यत्रो व्यवस्था परिवर्तन भयो । तर दुःखको कुरा श्रमिकहरुले अझै पनि आफ्नो देशमा श्रम बेच्न पाएनन् । श्रमको मूल्य पाएनन् । श्रमको अवसर पाएनन् । त्यसैले खाडीलाई कर्मभूमि बनाउन बाध्य भए । तर अहिले खाडीले पनि नपुगेर, युरोप जान बाध्य छन् ।

अन्तिम अपडेट: भदौ ४, २०७९

तपाईको प्रतिक्रिया