नेपाल नामिबियासँग ४० रनले पराजित : छैटाैँ स्थानमा झर्‍याे

 असार २८, २०७९ मंगलबार ७:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । यो सँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नामिबिया पाँचौ स्थानमा उक्लिएको छ ।

जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ८० रनमा अलआउट भयो । नेपालका आरिफ शेखले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । उनी ५० रनमा अविजित रहे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । देव खनाल ३४ रनमा आउट भए । कुशल भुर्तेल २७ रन, करण केसी १९, ओपनर आसिफ शेख १४, सोमपाल कामी र आदिल अन्सारी समान १०–१० रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ४ तथा रोहित पौडेल र कप्तान सन्दीप लामिछाने शून्यमा रन आउट भए ।

नामिबियाका बेर्नार्ड शोल्टज, डेविड विजा र जान फ्रिलिंकले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४७ ओभर ३ बलमा २ सय २० रनमा अलआउट भएको थियो । नामिबियाका जान निकोल लोफ्टी एटोनले सर्वाधिक ६० रन बनाए । बलिङतर्फ नेपालका कप्तान लामिछानेले चार विकेट लिए । यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

नेपालले दोस्रो खेल भोली स्कटल्यान्डसँग खेल्नेछ । तेस्रो खेलमा नामिबियासँग आउँदो शनिबार र अन्तिम खेलमा स्कटल्याण्डसँग आइतबार खेल्ने तालिका छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

अंक तालिकामा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । यूएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हारसहित १६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १७ खेलमा ७ मा जित, ९ मा हार र एकमा बराबरीका साथ १५ अंक जोड्दै छैटौँ स्थानमा झरेको छ । पपुवा न्यूगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Arjun prasad Bhattarai

    July 12, 2022, 8:25 a.m.

    किन नेपालमा अग्रजको आदर गरिंदैन ...बिनोद भण्डारीलाई किन नखेलाएको...सबै फ्लप भएका छन् / थप ब्याट्सम्यान नराखेर किन बलर राखेको / नेपाली ब्याट्सम्यान सिंगल , डबल किन लिंदैन ? आफूमा आफै दवाब लिने काम गर्छ / हिजोको म्याचमा शेखले ५० हान्यो, तर बल कति खेल्यो / खनालको नि तेही हालत भो / त्यसैले ब्याटिंग जरुरी छ , धन्यवाद /

  •  0 Reply

तपाईको प्रतिक्रिया