काठमाडौंमा न्यूनतम गाडीभाडा १४ रुपैयाँ, देशभर चल्ने बस र ट्रकको नयाँ भाडादर सार्वजनिक

 असोज ८, २०७५ सोमबार ५:४६:३ | उज्यालो सहकर्मी

काठमाडौं - सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । 

शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकामा न्यूनतम भाडादर १४ रुपैयाँ तथा अधिकतम २७ रुपैयाँ तोकिएको छ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु १४ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि  १३ रुपैयाँ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग १५ रुपैयाँ लिँदै आएका थिए । 

नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म १६, छ किलोमिटरसम्म १७, आठ किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २१, तेह्र किलोमिटरसम्म २३, सोह्र किलोमिटरसम्म २५, उन्नाइस किलोमिटरसम्म २६ र त्यसभन्दा माथि २७ रुपैयाँ भाडा कायम भएको छ । 

यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ । 

तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ । 

यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर  ३९ रुपैयाँ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको सात रुपैयाँलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ । 

विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो । 

मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा २० हजार ७७३, वीरगञ्ज–पोखरा १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा ४५ हजार १८९ रुपैयाँ कायम गरिएको छ । 
देशभर कहाँबाट कहाँ पुग्दा कति भाडा लाग्छ, पढ्नुहोस् : नयाँ भाडादर सार्वजनिक, कहाँबाट कहाँ पुग्न कति भाडा ?(भाडादरसहित)

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया