नेपाली भूमि अरू देशलाई प्रयाेग गर्न दिँदैनाैँ : अध्यक्ष नेपाल

 असार २८, २०७९ मंगलबार १८:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । आज मङ्गलवार दिउँसाे अध्यक्ष नेपाल र लिउबीच काठमाण्डाैकाे एक होटलमा भेट भएको हो । 

भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनुभयो । उहाँले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताउनुभयो । अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट र चीनको कम्युनिस्ट जनवर्गीय सङ्गठनका बारेमा पनि कुरा भएको बताउनुभयो । चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको र दुई देशकाे सम्बन्धलाई अझै सुमधुर बनाएर लैजाने कुरा राखेको उहाँकाे भनाइ छ । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपाल एक चीन नीतिमा दृढ छ । चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप नेपालको बहसमा छैन । नेपाल अरूलाई भूमि प्रयोग गर्न दिने पक्षमा छैन । हामीले चीनसँग कुनै समस्या पाएका छैनौँ । यो सम्बन्धलाई अझै अघि लैजानुपर्छ भनेर कुरा भए । चिनियाँ पक्षले पनि नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीसँगको सम्बन्धलाई पनि बलियो बनाउन चाहेको कुरा गर्‍याे ।’

गएकाे आइतवार चार दिने नेपाल भ्रमणमा आउनुभएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ । विदेश विभाग प्रमुख लिउले भाेलि बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने कार्यतालिका छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया