जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा ५ जना बिरामी

 असार २९, २०७९ बुधबार ८:५७:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी भएका छन् । बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् । 

आशिरामले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएकाे च्याउ खाँदा पाँच जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । आशिराम खत्रीसहित उहाँकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री घाइते भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुकुमार सोतीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये आशिराम उहाँकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । अन्य तीन जना भने सामान्य अवस्थामा छन् ।  

बर्खायाममा जङ्गली विषालु च्याउ खाएर मानिसहरू बिरामी परेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सचेत रहन आग्रहसमेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया