स्कटल्यान्डसँगको खेल जित्न नेपालले पायो १ सय ४५ रनको लक्ष्य

 असार २९, २०७९ बुधबार १९:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत  त्रिदेशीय एक दिवसीय श्रृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेल जित्न नेपालले १ सय ४५ रनको लक्ष्य पाएको छ ।

ग्लास्गोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो । उसका लागि गाभिन मेइनले उत्कृष्ट प्रदर्शन गरे । उनी ६४ रनमा नटआउट रहे । ९५ रन बनाउँदा ९ विकेट गुमाएको स्कटल्यान्डलाई मेइनले सम्हाल्दै १ सय ४४ रनको अवस्थामा पुर्याए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले ३/३  तथा सन्दीप लामिछानेले २, करण केसी र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

स्कटल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा छ । श्रृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल शनिवार नामिबिया र अन्तिम खेल आइतवार स्कटल्यान्डसँग खेल्ने तालिका छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाव्बेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ ।

शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया