पार्टी फुटाउने प्रयास गरेकाले बाबुरामसहित ९ जनालाई कारबाही गरिएकाे हाे : उपेन्द्र यादव

 असार ३१, २०७९ शुक्रबार १३:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नाैजना नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको छ । 

आज वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको हो ।

हिजाे सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरीत काम गरेको, पार्टीको सिद्धान्त विपरीत अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उहाँले आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो –'बाबुराम प्रमुख भूमिका खेल्नेहरु नेताहरुलाई पार्टीको हित विपरीत, पार्टीको एकतालाई तोड्ने प्रयास गरेको र पार्टीको जुन घोषित लक्ष्य छ, उद्देश्य छ, सिद्धान्तका विपरीत अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय समेत, नयाँ पार्टी स्थापना गर्ने भन्ने निर्णय समेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा सम्हालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । पदमुक्तिसँगै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष यादवले सरकारले संसदमा पेस गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताउनुभयो । उहाँले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पार्नुभयो ।

जसपामा विवाद बढेपछि सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाण्डौमा सम्पन्न गर्नुभएको थियो । यादव पक्षको यो निर्णयसँगै जसपा औपचारिक विभाजनको नजिक पुगेको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया