विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै

 असार ३२, २०७९ शनिबार ७:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नामिबियासँग खेल्न लागेको हो ।

खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

नेपाल र नामिबियाले एक दिवसीयसहित ६ पटक खेलेका छन् । जसमा नेपालले चार पटक जितेको छ भने दुई खेलमा हारेको छ । नेपालले पहिलो पटक सन् २००१ मा आईसीसी ट्रफी प्रतियोगितामा नामिबियासँग खेलेको थियो । क्यानडामा भएको खेलमा नेपाल ८ विकेटले हारेको थियो ।

त्यस्तै सन् २०१५ आईसीसी लिग डिभिजन–२ मा दुई टोलीबीच भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । त्यस्तै, विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत सन् २०१७ मा भएका दुई खेलमा पनि नेपालले नामिबियालाई हराएको थियो । त्यसपछि सन् २०१८ मा भएको खेलमा नेपालले नामिबियामाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

लिग–२ मा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलेको नेपाल १७ अङ्ककासाथ तालिकाको पाँचौँ स्थानमा छ । नामिबिया १७ खेलमा १६ अङ्ककासाथ छैटाैँ स्थानमा छ । नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ ।

शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया