चुनावमा अन्तर्घात गरेको भन्दै गल्याङका पूर्वमेयर अधिकारीलाई एमालेले गर्‍याे अनुशासनको कारबाही

 असार ३२, २०७९ शनिबार १७:६:६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले कारबाही गरेको छ । गएकाे पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ ।

दुईपटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही गरेको एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो । एमालेले असार २० गते ३ दिन भित्र पेश गर्नेगरी र असार २८ गते २ दिन भित्र पेश गर्नेगरी स्पष्टीकरण सोधेको जनाएको छ । 

गल्याङ नगरपालिकास्तरीय समीक्षा बैठकमा उठेको विषय र अन्य धेरै प्रमाणहरुका आधारमा अधिकारीमाथि गम्भीर सवालहरु उठेको भन्दै एमालेले स्पष्टीकरण सोधेको भए पनि यसमा कुनै प्रतिक्रिया नजनाएको अध्यक्ष गैह्रेको भनाई छ  । गल्याङमा जिल्ला अध्यक्ष गैरेले मेयरको टिकट पाएपछि निवर्तमान मेयर अधिकारी असन्तुष्ट रहेको बाहिर आएको थियो । 

जिल्ला कमिटी अध्यक्ष समेत रहेका गैह्रे कांग्रेसका गुरुप्रसाद भट्टराईसँग पराजित हुनु भएको थियो । गैह्रे ६९९ मतअन्तरले पराजित हुनु भएको थियो । भट्टराईले ९६ सय २१ मत ल्याएर विजयी हुनु भएको थियो । 
२०७४ सालको चुनावमा मेयर र उपमेयर दुवै जितेको एमालले यो पटक दुवै पद गुमाएको हो । एमालले आफ्नो आधारक्षेत्र मानेका धेरै वडा पनि गुमाएको थियो । 

गल्याङमा कांग्रेस एकल रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । जिल्लाका अन्य धेरै तहमा भने गठबन्धन र एमाले बीच चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले केन्द्रीय सचिव पद्मा अर्याल इतर समूहमा रहँदै आउनु भएका अधिकारी एमालेको जिल्ला कमिटी चुनावमा सचिव पदमा पराजित हुनु भएको हो ।   
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया