नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

 साउन १, २०७९ आइतबार २०:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल आठ विकेटले पराजित भएकाे छ । 

नेपालले दिएकाे एक सय २९ रनकाे सामान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र दुई विकेट गुमाएर भेटायाे । स्कटल्यान्डका लागि कलुम म्याकलिओडले ६४ रन बनाए । यस्तै किले काेटजेरले नटआउट ४४ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र साेमपाल कामीले एक/एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०/१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले सात/सात तथा कुशल भुर्तेलले तीन रन बनाए । आरिफ शेखले खाता पनि खोल्न सकेनन् ।

स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टाेफर म्याकब्राइटले एक विकेट लिए । 

यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । तर नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ । 

नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३४ अङ्कसहित दाेस्राे र नामिबिया १८ खेलमा १८ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया