सन्दीप भन्छन्– ‘ब्याटिङमा समस्या पहिलेदेखि नै हाे, अहिले आएर दाेष देखियाे’

 साउन ३, २०७९ मंगलबार १८:४९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले पटक–पटक क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकारेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण सकेर आज मङ्गलवार स्वदेश फर्किएपछि टाेलीका कप्तान लामिछानेले यस्ताे बताएका हुन् । 

कप्तान लामिछानेले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै ब्याटिङमा समस्या पहिलेदेखि नै भएको र अहिले आएर दोष देखिएको बताए । नेपाली टोलीले आफ्नो कमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको उनले बताए । 

प्रशिक्षका पुबुदु दासानायकेले भ्रमण सोचेजस्तो नभए पनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता भएकाले अनुभवको धेरै खाँचो रहेको उनको भनाइ छ । आयोजक स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली स्वदेश फर्किएको हो । 

स्कटल्यान्ड भ्रमणमा नेपालले चार खेलेकाेमा एकमा जित र तीनमा हार बेहाेरेकाे थियाे । नामिबियासँगकाे दुवै खेलमा पराजित भएकाे नेपाल घरेलु टोली (स्कटल्यान्ड) सँगको पहिलो खेलमा विजयी हुँदा अन्तिम खेलमा पराजित भएको थियो । शृङ्खलामा बलिङमा औसत प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो । 

यस्ताे छ अङ्क तालिका–

तालिकामा २० खेल खेलेर १७ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग–२ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अङ्क जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (यूएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौँ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवा न्युगिनी (पीएनजी) ले २० खेलबाट दुई अङ्क जोडेकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया