आयरल्यान्डसँगको टी–२० श्रृङ्खलामा न्युजिल्यान्डका ब्रेसवेलले लिए करिअरको पहिलो ओभरमै ह्याट्रिक

 साउन ५, २०७९ बिहिबार ९:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डसँगको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ८८ रनले हरायो ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अलआउट भयो । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले आफ्नो टी–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक विकेट लिएका छन् । उनले १४औँ ओभरमा ह्याट्रिक विकेट लिएका हुन् ।

१४औँ ओभरको तेस्रो बलमा मार्क आदिर, चौथो बलमा ब्यारी म्याकार्थी र पाँचौँ बलमा क्रेग योँग आउट भए । ब्रेसवेल न्युजिल्यान्डबाट टी–२० मा ह्याट्रिक गर्ने ज्याकोब ओरम र टिम साउथीपछि तेस्रो बलर हुन् ।

उनले आयरल्यान्डसँगको पहिलो टी–२० मा डेब्यु गरेका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रवार हुनेछ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया