एन्फा कार्यसमिति बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित

 साउन ५, २०७९ बिहिबार ११:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ । ललितपुरकाे एन्फा मुख्यालयमा आज बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको हो ।

दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो ।

ढिलो गरी सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरि स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिनुभयो । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियाे ।

यसअघि गएकाे सोमवारका लागि तय भएको बैठक अध्यक्ष पङ्कजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । चुनावपछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि आलोचित भएकाे नयाँ नेतृत्वको दोस्रो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकका लागि विभिन्न एजेण्डा तय भए पनि  छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ ।

चुनावमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । साधारण सभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया