कुमार थापा महिला फुटबल टाेलीकाे प्रशिक्षक नियुक्त

 साउन ६, २०७९ शुक्रबार १६:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – कुमार थापा राष्ट्रिय महिला टाेलीकाे प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) काठमाण्डाैमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनशिप फुटबलका लागि आज शुक्रवार थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।  

काठमाण्डाैमा भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनशिप हुँदैछ । आज जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । महिला फुटबल सङ्घकी पूर्वअध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन्फाले निकालेकाे सूचनामा उल्लेख छ ।

साफ च्याम्पियनपशिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरूलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । यस्तै स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रूपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सञ्जिव सिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र फिफाबाट प्रतिबन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । नेपालले यसअघि पाचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया