चाेभार सुक्खा बन्दरगाह ‘सुनसान’ जस्तै, ४ महिनामा १६ वटा गाडीको मात्रै जाँचपास

 साउन ६, २०७९ शुक्रबार १९:१३:५२ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको चार महिना हुन लाग्दा पनि सोचेजस्तो रूपमा चल्न सकेको छैन । तराईका पाँच नाकाबाट नेपाल भित्रिने मालसामान सिधै काठमाण्डौ ल्याएर जाँच गराउन मिल्ने व्यवस्थासहित याे सुक्खा बन्दरगाह बनेको हो । तर काठमाण्डौमा सामान ल्याउने व्यापारीले पहिलेजस्तै सीमावर्ती नाकामै जाँचपास गराउने गर्दा बन्दरगाह सुनसानजस्तै देखिन्छ । 

काठमाण्डौ ल्याइने सरसामान जाँचपास गराउन अरू बन्दरगाहमा भन्दा चोभार बन्दरगाहबाट सजिलो, सस्तो र छिटो हुन्छ । तर व्यावसायीलाई यसबारे राम्रोसँग जानकारी नभएको हुन सक्छ भन्नुहुन्छ सुक्खा बन्दरगाहको सञ्चालक कम्पनी इन्टर मोडल यातायात विकास समितिकी जिन्सी प्रमुख अनिता कोइराला । ‘देशको सीमा नाकामा मात्रै भन्सार बन्दरगाह हुन्छ भन्ने धेरैको सोच छ । धेरै व्यवसायीलाई चोभार सुक्खा बन्दरगाहको जानकारी नभएकाले काम सोचेजस्तो नभएको हुन सक्छ’, काेइरालाले भन्नुभयाे । 

समुद्री मार्ग हुँदै काठमाण्डौ आउने मालसामानको जाँचपास सहज गराउने उद्देश्यले चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइएको हो । सङ्कुचित अर्थतन्त्रका कारण सोचेजस्तो काम नभएको भए पनि काठमाण्डाै–तराई फास्ट ट्र्याक सञ्चालनमा आएपछि पूर्ण क्षमतामा चल्छ भन्नुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा । ‘आर्थिक तरलताले गर्दा पहिलेजस्तो आयात–निर्यात हुन सकेको छैन । आर्थिक गतिविधि पनि एकदम सुस्त छ । अगाडि बढ्दै जादा यसमा सुधार हुँदै जान्छ । फास्ट ट्र्याक सुरु भएपछि चोभार बन्दरगाहको कायापटल हुन्छ’, महासङ्घका अध्यक्ष गोल्छाले भन्नुभयाे । 

विदेशबाट नेपाल भित्रिने मालसामानमध्ये ६० प्रतिशत सामान काठमाण्डौमै आयात हुन्छ । यहाँ आउने सामान वीरगञ्ज भन्सारमा जाँच भएर आउँछन् । जसका लागि दुई दिनसम्म भन्सारमा कुर्नुपर्छ । चोभारको सुक्खा बन्दरगाह पूर्णरूपमा सञ्चालनमा आउँदा अरू बन्दरगाहको बोझ पनि घट्ने र व्यवसायीलाई पनि सजिलो हुने सरकारको विश्वास छ । तर प्रचारको कमी र पुरानै ठाउँबाट जाँच पास गर्ने बानी हट्न नसकेकाले सोचेजस्तो चहलपहल नभएको चोभार भन्सार कार्यालयले बताएको छ । काठमाण्डौ आउने मालसामान बोकेका सबै गाडीलाई यहीँबाट जाँचपास गराउन उद्योगी, व्यापारीसँग छलफल भइरहेको सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताउनुभयाे । काठमाण्डौ गन्तव्य भएका मालवस्तुको चोभार भन्सार कार्यालयबाटै जाँचपास गराउने प्रक्रिया बढाउने प्रतिबद्धता उद्याेगी, व्यापारीले जनाएका उहाँले बताउनु भयो । 

पहिले हिमाल सिमेन्ट कारखाना रहेको चोभारको खाली ठाउँमा भव्य भवन र फराकिलो ठाउँसहितको सुक्खा बन्दरगाह बनाइएको छ । बन्दरगाह भनेपछि मालसामान बोकेका ठूल्ठूला गाडीको ओहोरदोहोर र चहलहपल हुनुपर्ने हो । सञ्चालनमा आएको चार महिना हुनै लाग्दा अहिलेसम्म जम्मा १६ वटा गाडीको मात्रै जाँचपास भएको छ । 

गएकाे चैत २२ गते सञ्चालनमा आएकाे बन्दरगाहको अवस्था कहिलेसम्म यस्तै हुने हो कुनै टुङ्गो छैन । दुई सय २० रोपनी क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा पाँच सय वटा कन्टेनर र तीन सय ५० वटा ठूला गाडी पार्किङ गर्नसक्ने क्षमता छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया