वेष्ट इन्डिजसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत तीन रनले विजयी

 साउन ७, २०७९ शनिबार ७:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई तीन रनले हराएको छ । वेष्ट इन्डिजको पोर्ट अफ स्पेन आज बिहान सकिएको खेलमा भारतले वेष्ट इन्डिजलाई तीन रनले हराएको हो ।

यो जितसँगै तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । जितका लागि ३ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन मात्रै बनाउन सक्यो ।

वेष्ट इन्डिजलाई जितको लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तर मोहम्मद शिराजाले एक चौकासहित ११ रन खर्चेपछि भारतको रोमाञ्चक जित पक्का भयो । वेष्ट इन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७५ रन बनाए । ओपनर शाइ होप ७ रनमै आउट भए । ब्रेन्डम किङ्ग ५४ र शमराह ब्रुक ४६ रनमा आउट भए ।

कप्तान निकोलस पुरन २५ र रोभम्यान पावेल ६ रनमा आउट भए । अकिल हुसैन ३२ र रोमारियो शेफर्ड ३९ रनमा अविजित रहे । भारतका मोहम्मद शिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले दुई/दुई विकेट लिए । त्यसअघि भारतका कप्तान शिखर धवन ९७ रन, ओपनर शुभमन गिल ६४ रनमा आउट भए ।

गिल र धवनले पहिलो विकेटका लागि १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए । श्रेयस ऐर ५४, सूर्यकुमार यादव १३, सन्जु स्यामसन १२, दीपक हुडा २७ र अक्षर पटेल २१ रनमा आउट भए । वेष्ट इन्डिजका अल्जारी जोशेफ र गुडाकेश मोटीले दुई/दुई विकेट लिए ।

भारत र वेष्ट इन्डिजबीचको दोस्रो एक दिवसीय खेल आइतवार हुनेछ । यो श्रृङ्खलामा भारतले रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई आराम दिएको छ । भारतको कप्तानी शिखर धवनले गरेका छन् । वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी-२० र एक दिवसीय श्रृङ्खला जितेको थियो।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया