एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई तत्काल पत्र पठाइयाेस् : माधव नेपाल

 साउन ८, २०७९ आइतबार १६:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिनुभएको छ । मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिला भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दबाब दिनुभएको हो । 

आज आइतवार काठमाण्डाैमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले केही दिनअघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताउनुभयो । अध्यक्ष नेपालले त्यससम्बन्धी पत्राचार छिटो अमेरिकालाई पठाउन सरकारलाई दबाब दिन पनि आम नेपाली नागरिकलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशको हितको निम्ति सजग हुनुपर्ने आवश्यकता छ । अस्ति भर्खर मात्रै म र प्रचण्डले एसपीपी अस्वीकार गरिएकाे पत्र अमेरिकालाई पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थियाैँ । यस सम्बन्धमा जनताको तहबाट पनि आवाज उठ्नुपर्दछ । जनता सजग हुनुपर्दछ । किनभने नेपालको राष्ट्रियताको रक्षा गर्ने भनेको नेपाली जनताले हो ।’

अध्यक्ष नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि रहेकाले त्याे सम्झौताले देशको अहित नगर्ने तर्कसमेत गर्नुभयो । उहाँले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै आपत्तिसमेत जनाउनुभयो । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली नागरिकलाई सैह्य नहुने चेतावनी दिँदै उहाँले देशको परराष्ट्र नीतिको मामिलामा दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारे पनि त्यसमा राष्ट्रिय सहमति जुटाउने काम हुन नसकेको बताउनुभयो । नेपालले सन्तुलित भएर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया