साफ यू–२० च्याम्पियनशिप उपाधि जित्ने नेपालको दाबी

 साउन ८, २०७९ आइतबार १८:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा आयोजना हुन लागेको साफ यू–२० च्याम्पियनशिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।  

भुवनेश्वरमा आज आइतवार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सबै तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन् । कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट युवा टोली तयार गरेका छन् । प्रतियोगिताका लागि टोलीले दुई महिनादेखि तयारी गरेको र यस टोलीबाट आफू धेरै आशावादी रहेको उनकाे भनाइ छ । 

यस्तै प्रि–म्याचमा कप्तान आयुष घलानले प्रतियोगिताका लागि आफ्नो टोली तयार भएको बताए । माल्दिभ्ससँगकाे पहिलो खेलमा तीन अङ्कका लागि खेल्ने उनले बताए । 

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पर्सि मङ्गलवार माल्दिभ्ससँग खेल्न लागेकाे हाे । भुवनेश्वरको कालिंगा रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । 

यस्तै नेपालसँग खेल्न लागेकाे माल्दिभ्स टाेलीका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने प्रतिक्रिया दिए । उनले आफ्ना धेरैजसाे खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेका कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।  

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो । प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बङ्गलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया