विदेशमा घरेलु श्रमिकका रूपमा जाँदा यी कुरा ध्यान दिनुहोस्

 साउन १०, २०७९ मंगलबार १८:३५:९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सुस्मा बराल, यूएई ।

म विगत लामो समयदेखि वैदेशिक रोजगारीमा छु । सन् २०१४ मा वैदेशिक रोजगारीको क्रममा कुवेत गएको थिएँ । कुवेतमा रहँदाको क्रममा पनि मैले घरेलु महिला श्रमिकको समस्याहरूलाई नजिकबाट नियालेको थिएँ । त्यसपछि नेपाल आएँ र केही समयपछि म यूएई गएँ । यूएईमा रहँदा पनि मैले घरेलु श्रमिकहरूको अवस्था र समस्यालाई नजिकबाट नियाल्न पाएको छु ।

म श्रमिक सञ्जालको सदस्य पनि हुँ । त्यस कारण पनि म यहाँ रहँदा कोही दिदीबहिनीलाई घरेलु काममा समस्या भयो भने उहाँहरूको समस्या सुन्ने र सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गर्ने काम पनि गर्छु । 

श्रमिक सञ्जाल भनेको मध्यपूर्व र मलेसियामा कार्यरत आवाज विहीन नेपाली दाजुभाइ दिदीबहिनीको समस्यालाई सम्बन्धित निकायसम्म पु¥याउने माध्यम हो । श्रमिक सञ्जालमार्फत हामीले यी क्षेत्रमा रहेका नेपालीहरूको समस्यालाई उठाउँदै आइरहेका छौँ ।

साथै यी देशका हावापानी, रहनसहन, चालचलन र संस्कार संस्कृतिको बारेमा पनि जानकारी गराउने गर्छौँ । ताकि कोही पनि नेपालीले जानकारीको अभावमा अथवा कोही नभएकै कारणले परदेशी भूमिमा दुःख पाउन नपरोस् भन्ने हाम्रो उद्देश्य रहेको छ ।

आज म घरेलु महिला कामदारका रूपमा मध्यपूर्वका देशमा रहनुभएका वा जाने सोच बनाउनु भएकाहरूका लागि केही महत्त्वपूर्ण कुरा राख्छु । सर्वप्रथम घरेलु कामदारका रूपमा जाने दिदीबहिनीहरूले यहाँबाट जाँदा अभिमुखीकरण तालिम लिन पर्छ ।

अर्को कुरा भनेको सामान्यता भाषाको पनि ज्ञान हुन आवश्यक छ । मध्यपूर्वका देशमा जाँदै हुनुहुन्छ भने बोलिचाली गर्न सक्ने, हिन्दी, अङ्ग्रेजी वा अरेबीक भाषा जान्नुभयो भने काम गर्न एकदमै सहज हुन्छ । घरको काममा धेरैजसो त अरेबीक भाषा नै प्रयोग हुन्छ । केही मात्रामा अङ्ग्रेजी भाषा पनि प्रयोग हुन्छ ।

तर नेपालबाट घरेलु कामदारका रूपमा जानेहरू अधिकांशले यी दुवै भाषा नजान्दा बोलिचाली गर्नै समस्या हुन्छ र भाषा नमिल्दा काम गर्न पनि कठिन हुन्छ । 

अरेबीक भाषा सामान्य रूपमा जान्नुभयो भने तपाईँलाई बोलिचाली गर्न एकदमै सहज हुन्छ । केही समस्या भइहाल्यो भने पनि आफ्नो कुरा राख्न र अरूसँग आफ्नो समस्या साट्न पनि सहज हुन्छ । अङ्ग्रेजी पनि जान्नुभयो भने त अझ राम्रो हुन्छ । त्यसैले यी मध्ये कुनै न कुनै भाषा सामान्य रूपमा सिकेर जानुहोस् । किनकि भाषा भनेको घरेलु कामदारका रूपमा जाँदा एकदमै महत्त्वपूर्ण पाटो हो । 

घरेलु काममा जोखिम भयो भन्दै नेपाल सरकारले रोक लगाएको छ । तर रोक लगाए पनि समस्याको समाधान भने भएको छैन । झन् जोखिम मोलेर मानिसहरू गइरहनुभएको छ । जागिर नपाउने, घरको आर्थिक अवस्था कमजोर लगायत थुप्रै कारणले विभिन्न सपना बुनेर दिदीबहिनीहरू जोखिम मोलेरै भए पनि खाडीका देशमा पुगिरहनुभएको छ ।

भिजिट भिसामा आएर पनि कामहरू गरिरहनुभएको छ । मैले पनि श्रमिक सञ्जालमा रहेर महिला दिदीबहिनीहरूलाई सहयोग गर्ने क्रममा घरेलु कामदारका रूपमा कार्यरतहरूको एकदमै समस्याहरू देखिरहेको छु । पछिल्लो समय त भिजिट भिसामा आउने र विभिन्न माध्यममार्फत काम गरिरहनुभएको हुन्छ । यसरी भिजिट भिसामा आएर घरेलु काम गर्दा केही समय रोजगारदाताले उहाँहरूलाई भिजिट भिसामै काम लगाउँछ । काम हेर्छ र कामको मूल्याङ्कन गरेर मात्र भिसा लगाउने गरेको पाइएको छ ।

कतिपय अवस्थामा त काम मन नपरेमा भिसा नलगाइदिने, पैसा नदिनेजस्ता व्यवहार पनि गर्न सक्छन् रोजगारदाताले । भिजिट भिसाको अवधि पनि सकिन्छ र कहाँ जाने के गर्ने भन्ने पनि हुँदैन । त्यो बेला झन् समस्या हुन्छ । यो कुरा गरिरहँदा म भर्खरैको एउटा दिदीको समस्या सम्झन्छु ।

एक जना दिदी नेपालबाट यूएई भजिट भिसामा आउनुभएको रहेछ । उहाँले साथीको माध्यमार्फत घरेलु काम गर्नुभएछ । तर उहाँलाई साप्ताहिक बिदा नदिने, बाहिर निस्कन नदिने, कोहीसँग कुरा गर्न पनि नदिने, इन्टरनेट सेवा नदिने लगायतका व्यवहारले गर्दा उहाँलाई एकदमै गाह्रो भएछ । उहाँको साथीको माध्यमार्फत समस्या श्रमिक सञ्जालसम्म उहाँको समस्या आयो र मैले उहाँलाई सम्पर्क गरेँ ।

उहाँ कुराकानी गर्न पनि डराएर बोलिरहनुभएको थियो । रोइरहनुभएको थियो । यो त एउटा उदाहरण मात्र हो । कमाउने सपना बुन्दा बुन्दै धरधरी रुनु पर्ने अवस्था आउने हो पत्तै हुँदैन । 

उहाँ त साथीको माध्यमार्फत हामीसम्म आइपुग्नुभयो । तर कहिलेकाहीँ कोही कसैको सम्पर्क नम्बरसमेत नहुँदा झन् घरभित्रै बसेर रुनु बाहेक अर्को विकल्प नहुन सक्छ । त्यस कारण दिदीबहिनीलाई यदि घरेलु काममा हुनुहुन्छ या आउँदै हुनुहुन्छ भने आफ्नो नेपाली दूतावासको सम्पर्क नम्बर राख्न नर्बिसिनुहोस् भन्न चाहन्छु । 

विदेश जानु पूर्व पनि आफू जाने घरमा के कस्ता कामहरू गर्नुपर्छ भनेर कसैसँग सोध्ने वा अध्ययन गर्ने गर्नुपर्छ । नेपालमा भान्साको काम गर्दा विभिन्न विद्युतीय उपकरणहरू नचलाएको हुनसक्छ । भान्साको काम भए पनि तपाईँ जाने  घरमा विभिन्न विद्युतीय उपकरणहरू चलाउन पर्ने हुनसक्छ ।

त्यस कारण त्यसबारे पनि जानकारी राख्नुहोस् भन्न चाहन्छु । आफ्ना नजिकको आफन्तहरू र साथीभाइलाई आफू कसको घरमा कुन लोकेसनमा कसरी काम गरिरहनुभएको छ भन्ने जानकारी गराइराख्नु पर्छ । यसो हुँदा भोलि कुनै समस्या भएमा तपाईँ कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउन र उद्धारमा समेत सहयोग पुग्छ ।

तपाईँले कसैलाई सहयोग माग्न फोन गर्नुभयो तर फोन उठेन भने पुनः फोन गर्नुहोस् भन्न चाहन्छु । कहिलेकाहीँ तपाईँले एक पटक गरेको फोन नउठ्न सक्छ । किनकि काममा हुन सक्छ या मानिस कहिले कता व्यस्त पनि हुनसक्छ । त्यस कारण फोन उठेन भनेर दुःखी हुनेभन्दा पनि पुनः फोन गर्ने गर्नुपर्छ । धेरैको बानी फोन नै उठेन भनेर छाडिदिने हुन्छ त्यसो नगर्नुहोस् भन्न चाहन्छु । 

परिवारका सदस्यले पनि आफ्नो मानिस कुन देशमा कुन कम्पनी वा घरमा के काम गरिरहेको छ भन्ने जानकारी र सम्पर्क नम्बरहरू राख्नुहोस् । घरेलु श्रममा तपाईँको आफन्त हुनुहुन्छ भने त अझ अनिवार्य राख्नुहोस् । आफ्नो मानिस गएको देश कस्तो भनेर बुझ्नुहोस् र यदि समस्या परिहाल्यो भने नेपाल सरकार विभिन्न निकायहरू छन् ती निकायमा गएर सहयोगका लागि निवेदन दिनुहोस् ।

परदेशमा पनि नेपाली दूतावास छ । विभिन्न नेपाली सङ्घसंस्थाहरू छन् जसले तपाईँलाई समस्यामा परेका बेलामा सहयोग गर्न सक्छन् ती निकायको बारेमा जानकारीसँगै सम्पर्क नम्बर पनि राख्नुहोस् । यति गर्नुभयो भने तपाईँलाई कुनै अप्ठेरो परिहाल्यो भने सहयोग माग्न सहज हुन्छ । 

(सुस्मा बरालसँग कार्यक्रम देश परदेशका लागि गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया