राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान

 साउन १३, २०७९ शुक्रबार ७:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान गरिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इच्छुक सार्वजनिक विद्यालयलाई पालिकामार्फत प्रस्तावको पेस गर्न अनुरोध गरेको छ । तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले साउन २९ भित्र सम्बन्धित पालिकामा प्रस्ताव पेस गर्नुपर्नेछ ।

विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम कार्यान्वयन फितलो भएपछि यसवर्ष छिट्टै कार्यान्वयनको प्रक्रिया सुरु गरेको केन्द्रका महानिर्देशक डा. चुरामणि पौडेलले बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विगत चार वर्षदेखि निरन्तर छ ।

विद्यालय भवन निर्माण तथा प्रयोगशालालाई मुख्य जोड दिएर कार्यक्रम सुरु गरिएको थियो तर विगतमा कार्यान्वयन पक्ष निक्कै फितलो देखिएको छ । गएको आर्थिक वर्षमा देशभरिका झन्डै ४१ सय विद्यालय यो कार्यक्रमका लागि छनोटमा परेका थिए । तर निर्णय नै ढिला हुँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ठूलो रकम खर्च नै हुन सकेन ।

चालु आर्थिक वर्षमा पनि भौतिक पूर्वाधार निर्माण, आईसीटी ल्याब तथा पढ्दै कमाउँदै कार्यक्रमलगायत समावेश गरिएको छ । यो कार्यक्रममा सहभागी हुन एउटा पालिकाले बढीमा ६ विद्यालयलाई प्राथमिकतामा राखेर सिफारिस गर्न सक्नेछन् ।

यसवर्ष भूकम्पबाट प्रभावित जिल्लामा भौतिक पूर्वाधारभन्दा आईसीटी ल्याब र पढ्दै कमाउँदै कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको पनि महानिर्देशक पौडेलले बताउनुभयो । भूकम्प प्रभावित १४ जिल्लामा यसअघि नै विद्यालयको भौतिक पूर्वाधार बनिसकेको छ ।

कतै छुटपुट रहेकाे भएमा पालिकाले बढीमा दुई वटा विद्यालय सिफारिस गर्नसक्ने निर्णय भएको छ । चारकोठे भवन निर्माणका लागि हिमाली क्षेत्रमा ६० लाख, पहाडी क्षेत्रमा ५५ लाख र तराईमा ५० लाख रुपैयाँ उपलब्ध गराउने गरी एकाइ लागत निर्धारण गर्ने तयारी छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया