एक करोडको लगानीमा मगर सङ्ग्रहालय

 साउन १४, २०७९ शनिबार १३:१२:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुमपूर्व – पुथा उत्तरगंगा गाउँपालिका – १०, तकमा मगर सङ्ग्रहालय निर्माण भएको छ । गएकाे आर्थिक वर्षमा भवन निर्माण गरिएको मगर सङ्ग्रहालयको यस वर्ष थप व्यवस्थापन गर्दै सञ्चालन हुने भएकाे हाे । 

मगर समुदायको कला, संस्कृति, रहनसहन, परम्परागत संस्कार, भेषभूषा, भाषा, सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्नको लागि मगर सङ्ग्रहालय निर्माण गरिएको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । मगर समुदायको बाहुल्यता रहेको रुकुम पूर्वमा सङ्ग्रहालय निर्माणको विशेष महत्व रहेको उहाँकाे भनाइ छ ।

मगरले प्रयोग गर्ने भाँडा, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री सङ्ग्रहालय राखिने र अवलोकनको व्यवस्था मिलाइने छ । यस्तै मगर समुदायले उत्पादन गरेका सामाग्रीहरु समेत सङ्ग्रहालयमा राखिने छ । सङ्ग्रहालयमा परम्परागत धनुष, नरसिंगा, पञ्चेबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दिया टुक्की, ठेकी, जाबे झोला, तुला जस्ता अन्य घरेलु उत्पादनका वस्तुलगायत मगर जातिहरुले हातले बुनेका कपडाहरु राखिने छ।

त्यस्तै मगर समुदायसँग जोडिएका र प्रयोग गर्दै आएका वस्तु तथा सीप र उनीहरुसँग जोडिएका कला, संस्कृति, भेषभूषालगायतका सामग्री सङ्ग्रहालयमा राखिने उपाध्यक्ष भुपेन्द्र बुढाले बताउनुभयाे ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा सङ्ग्रहालयको लागि भवन निर्माण गरिएको हाे । सङ्ग्रहालय भवनमा एउटा टिकट कोठा, कर्मचारी कक्ष र म्युजियमको लागि ठूलो हल निर्माण गरिएको छ । आर्थिक वर्ष ०७८/०७९ मा ५३ लाख ३६ हजार १५० रुपैयाँको लागतमा भवन निर्माण गरिएको मगर सङ्ग्रहालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष बर्मप्रताप बुढाले बताउनुभयो । उहाँका अनुसार पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको ४८ लाख रुपैयाँ र उपभोक्ताको पाँच लाख ३६ हजार १५० रुपैयाँ र श्रमदानबाट संहग्रालयको लागि भवन निर्माण सम्पन्न गरिएको छ । 

सङ्ग्रहालय भवनमा अहिले सजावटको काम चलिरहेको पुथा उत्तरगंगा गाउँपालिकाका सव इन्जिनियर नवीन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन डिभिजन कार्यालयले यस वर्ष मगर संग्राहलय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

जिल्लामा पर्यटन प्रबर्द्धनका लागि मगर सङ्ग्रहालय सहयोगी हुने भएकोले थप विकास र प्रबर्द्धनमा राज्यले थप लगानी गर्नुपर्ने स्थानीयकाे माग छ। 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया