मुम्बई विमानस्थलमा तीन 'बुमबुमु'ले दिएको अनौठो अनुभव

 साउन १९, २०७९ बिहिबार १२:५४:४५ | नारायण कोइराला
unn.prixa.net

संयुक्त अरब इमिरेट्स (यूएई)बाट बिदामा घर जाने तयारी गर्दै थिएँ । कम्पनीबाट बिदा पास पनि भयो । घर जाने भनेपछि मन फुरुङ्ग भएको थियो । त्यो समयमा अहिले जस्तो सहज रूपमा हवाई टिकट पाइँदैन थियो ।

सिधा उडान नपाउने त होइन । तर सिधा उडान महँगो थियो । तर पनि मैले यसपालि भने सिधा उडानको नै टिकट काट्छु भन्ने सोचेको थिएँ । यूएईदेखि काठमाण्डौको सिधा उडानको टिकट काट्नकै लागि भनेर ट्राभल एजेन्सीमा पुगेँ । 

ट्राभलमा कुराकानी गर्दै जाँदा मनस्थिति बदलियो । टिकट काउन्टरमा भारतीय नागरिक थिए । उनले मलाई दिएको सल्लाहले मेरो दिमाग कन्भिन्स भयो । यूएईको अबुधाबीबाट त्यो बेला इतिहात एयरको मात्र सिधा उडान थियो । त्यो पनि भनेकै दिन टिकट पाउन त मुस्किल थियो । टिकटको मूल्य पनि महँगो थियो । कमाउन भनेर घर छाडेर परदेश पुगेको श्रमिकका लागि जति हुन्छ बचाउनु नै ठुलो कुरा हुन्थ्यो ।

हुन त लोभीको भाँडो कहिल्यै भरिन्न भन्छन् । तर परदेशीका लागि कमाउनु जतिकै महत्त्वपूर्ण बचाउनु पनि हो । बचाउन सकेन भने जति कमाए पनि त्यसको महत्त्व कम हुन्छ । 

उनले पैसा कम पर्ने भएपछि मुम्बई ट्रान्जिट गरेर नेपाल जान सुझाए । हुन पनि एक दुई घण्टाको फरक समयको लागि ठुलो रकम खर्च गर्नु भन्दा त्यो पैसा बचाएर घरका आफन्तलाई केही लगिदिन पाइन्छ जस्तो लाग्यो मनमा । त्यसपछि मैले आबुधाबीबाट मुम्बई हुँदै नेपाल आउने निधो गरेर त्यही अनुसार टिकट काटेँ । 

टिकट काटेको करिब २० दिन पछि म घर जाने तयारीमा थिएँ । कोठामा २ वटा डोरीले बाँधिएका लगेज तयार थिए । त्यो समयमा डोरी बाँध्ने चलन चर्चामै थियो । कतिपय अवस्थामा अरबबाट आउनेलाई डोरी लाहुरे पनि भनेर सम्बोधन  गरेको  सुन्न पाइन्थ्यो । अचेल भने डोरी बाँध्ने चलन बिस्तारै कम हुँदै गएको छ । 

घर जाने भने पछि मनमा छुट्टै उमङ्ग हुन्थ्यो । ज्यान नै फुरुङ्ग हुन्थ्यो । साथीले सबै सामान ट्याक्सीसम्म खुसीसाथ लगिदिन्थे । त्यो दिन पनि त्यस्तै भयो । सबै जनाले मलाई घर जान बिदाइ गरे । म हात हल्लाउँदै एयरपोर्ट तिर हुइँकिए । 

म अबुधाबी एयरपोर्ट पुग्दा उडानको समय आउन करिब तीन घण्टा बाँकी थियो । एयरपोर्टमा हुने सबै जाँच गर्दा पनि समय अझै बाँकी थियो । एयरपोर्ट भित्र डिउटी फ्रीमा घुम्दै थिएँ । धेरैजसो नेपाली साथीभाइको आँखामा डिउटी फ्रीमा रहेका विदेशी  हुस्की र रममा थिए । रमाइलो थियो ।

झिलिमिली एयरपोर्ट भित्र विभिन्न देशका नागरिकको जमघट थियो । फोटो खिच्नेहरूको पनि भिडभाड नै थियो । म पनि के कम थिएँ र, दुईचार सेल्फी लिएँ । म हुस्कीबाट टाढा रहने हुँदा डिउटी फ्रीबाट पाँच वटा  बुमबुम (इनर्जी ड्रिक्स) किनेँ । 

अब भने म जहाजमा बसिसकेको थिएँ । सुरक्षा सम्बन्धित सबै कुरा एयरहोस्टेजबाट जानकारी दिइयो । म आफ्नो बेल्ट बाँधेर गीत सुन्नमा मस्त थिएँ । जहाज आकाशतिर उचालियो म निद्रातिर । 

मेरा आँखा खुल्दा जताततै अँध्यारो भए पनि बाहिरको अवस्था झिलिमिली थियो । हामी मुम्बई सहरको नजिकमा रहेछौँ । जुन सहरमा ट्रान्जिट थियो । जहाज ल्याण्ड हुन लागेको जानकारी भएको मिनेटमै जहाज जमिनमा गुडेको महसुस भयो । नेपाल जाने यात्रीहरूको ट्रान्जिट समय कम भएकोले कतै न अलमलिन जानकारी दिएको थियो । 

मुम्बईको विमान स्थलमा उत्रने बित्तिकै नेपाल जाने यात्रीको लागि एउटा लाइन बनाएर अगाडि बढ्न आग्रह गरियो । हतार हतारमा हामी सबै सामान्य चेकजाँचका लागि गयौँ । म लगभग लाइनको अन्त्यमा थिएँ । मेरो झोला चेक गर्नको लागि खोल्न लगायो । सहज रूपमा झोला खोलेर देखाएँ ।

यतिकैमा अबुधाबी एयरपोर्टमा किनेको पाँच वटा बुमबुमबाट तीन वटा निकाली चेकिङ काउण्टरको मुनी राख्दै भन्यो ‘भाइ इतना इनर्जी ड्रिंक्स नहीँ लें जा सक्ते ।’ पुलिसको यो भनाइले मलाई रिस उठिसकेको थियो । धेरैपल्ट नेपाल लिएर गएको थिएँ ।

संवेदनशील ठाउँ भएकोले आफैलाई समाल्दै भने ‘क्यु  नहीँ लें जा सकता हुँ ।’ मेरो जवाफको उत्तर नै नदिएर उ त्यहाँबाट हिँड्यो । म हेर्दै थिएँ । अर्का एक जना आए र फेरि त्यो बुमबुम मागे र भने ‘उन्हें राख हे मेँ नहीँ दे सकता ।’

मैले उसको नियति बुझिसकेको थिएँ । मैले नि नडराई भने ‘सिधा सिधा बोलो नं हम लोगों  पिएँगे ।’ यति भन्दाभन्दै मलाई छिटो जहाजमा आउन माइकबाट बोलाइयो । म जहाज तिर दौडिएँ ।

तीन बुमबुमले भन्दा पनि एयरपोर्टमा देखाइने त्यो व्यवहार र पुलिसको नियति सम्झँदा अहिले पनि सोच मग्न हुन्छु । आफूले आफैँलाई प्रश्न गर्छु – ‘आखिर किन त्यसो गर्दा हुन् ।’ 

अन्तिम अपडेट: साउन २१, २०७९

तपाईको प्रतिक्रिया