भारतसँगकाे हारले धेरै पाठ सिकायाे : आयुष घलान

 साउन १९, २०७९ बिहिबार १९:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा आयोजना भएको २० वर्षमुनिकाे साफ च्याम्पियनशिपमा सहभागी भइ बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ । 

आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो । प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरेकाे टोलीले सुरुका दुई खेलमा राम्रो प्रदर्शन गरे पनि बाँकी दुई टोलीसँग अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भएको थियो । कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिस्पर्धाबाट छनोट गरिएको थियो । सुरुवाती दुई खेलमा सुखद नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसी भारतसँगको हारपछि भने आलोचित भएका थिए । 

बिहीवार स्वेदश फर्किएका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँगकाे पराजयले दक्षिण एसियामा नेपाली टोलीको मेहनत नपुगेको स्वीकार गरे । उनले मेहनतका बाबजुत पनि नतिजा अपेक्षाअनुसारको हात नलाग्दा आफू निकै दुःखी भएको बताए । 

यस्तै कप्तान आयुष घलानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए । फराकिलो पराजय भए पनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्किकल विषयमा अझै मेहनत गर्न आवश्यक रहेको घलानको बुझाइ रह्यो । भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभव कम भएको उनले बताए । 

राउन्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले पराजित गर्दा दोस्रो खेलमा श्रीलङ्कामाथि ३–० को जित निकालेको थियो । तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बङ्गलादेशसँग १–१ को बराबरी खेलेको थियो । प्रतियोगितामा भारत र बङ्गलादेश शीर्ष दुई टोली फाइनल प्रवेश गरेका छन् । फाइनल भाेलि शुक्रवार हुँदैछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया