प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत : असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

 साउन २४, २०७९ मंगलबार ७:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ ।

उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ । यस्तै, असोज ११ गते निर्वाचन अधिकृत नियुक्त, २१ गते कार्यालय स्थापना गर्ने कार्यतालिका छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । तालिका अनुसार कात्तिक १६ गते मतदान सामग्री ढुवानी र २७ गते मतपत्र ढुवानी गरिने निर्वाचन आयेगले जनाएको छ ।

मंसिर ४ गतेको चुनावका लागि १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ । आयोगले अहिले तय गरेका तालिकामा केही संशोधन हुनसक्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ ।  दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् ।

चुनावका लागि अहिलेसम्म ९ वटा पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । गएको आइतबारदेखि दल दर्ता सुरु भएको छ । आउँदो ३१ गतेसम्म राजनीतिक दलले दल दर्ता गर्न पाउनेछन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया