सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा   देशभरका  नासु आज बिदामा बस्ने

 साउन २४, २०७९ मंगलबार ८:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने  भएका छन् । बजेटमा घोषणा गरेभन्दा  असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् ।

काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो  सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।  हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् । असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।

युनियनका महासचिव जनक रावलले मर्यादाक्रम मिलाउने नाममा सरकारले माथिल्लो तहका कर्मचारीको बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेकोले विरोध गर्नुपरेको बताउनुभयो । बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि  बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो ।  

चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो ।  तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि आफूहरुलाई अन्याय भएको भन्दै नासुहरुले आन्दोलन थालेका थिए ।   
    
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया