प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना, अवस्था सामान्य
मंसिर ८, २०८१ शनिबार
पाँचथर – २०७७ सालको जेठ ३ गते रजिमा राई(नाम परिवर्तन) आँगनमा छोरी खेलाउँदै हुनुहुन्थ्यो । जङ्गलबाट दाउराको भारी बोकेर घर फर्कदै गरकी सासूले भारी नै नबिसाई भन्नुभयो ‘तेरो त बुढा मर्यो अरे त, तँ चाहिँ यहाँ आनन्दले बसिरहेको रछ ।’
सासूको कुरा झट्ट सुन्दा रजिमालाई ठट्टा गरे झैँ लाग्यो । तर ठट्टा पनि कति नमिठो ठट्टा ।
‘आमालाई छोरा मन पर्दैन अनि जे पनि भन्नुहुन्छ, मन नै नपरे पनि त्यति सारो त नभन्नु न हउ आमा ।’ सामान्य रूपमा रजिमाले सासूलाई जवाफ दिनुभयो ।
‘सत्य कुरा तलाईँ मजाक लाग्छ भने बसिराख्न त’ यति भनेर सासू आमा ओरालो लाग्नुभयो ।
सासूको शब्दले रजिमाको दिमाग रिङ्गायो । तीन दिनअघि श्रीमानसँग भएको कुराकानी सम्झँदै सासूसँग मनमनै रिसाउनु पनि भयो ।
रजिमालाई यूएईबाट श्रीमानले त्यसको तीन दिन अघि मात्र फोनमा भनेका थिए, मेरो मोबाइलमा पैसा छैन, नेट पनि छैन, अब तीन दिनपछि तलब आउँछ अनि म तिमीलाई पैसा हालेर फोन गर्छु ।
श्रीमानले भने अनुसार त्यस दिन फोन गर्नु पर्ने दिन थियो । तर बिहानै सासू आमाले भनेका शब्दले रजिमालाई श्रीमानको फोनको प्रतीक्षा गर्न दिएन ।
डाटा प्याक तानेर तीन दिनदेखि नखोलेको फेसबुक हतार हतार खोल्नुभयो । फेसबुक खोल्नासाथ सुरुवातमै देख्नुभयो ‘रिप’ लेखेर हालिएको श्रीमानकै फोटो ।
हातखुट्टा लगलगी काँपे । तर पनि वास्तविकता के हो पत्ता लगाउनु थियो । फोटो हाल्ने श्रीमानका साथीलाई हतार हतार म्यासेज गर्नुभयो ।
‘भाइ मेरो श्रीमानको फोटोमा किन रिप लेख्नुभएको ?’
'भाउजू तपाईँलाई थाहा छैन, दाइ त सुतेको सुतेकै हुनुभयो, कोरोना लाग्यो भनेर प्रहरीले लग्यो दाइको लास पनि’ उताबाट जवाफ आयो ।
उताबाट आएको यो म्यासेज आँखाले देख्यो । मनले त होइन होला भनिरहेको थियो । तर हातले थप म्यासेज लेख्न सकेन । मुखबाट शब्द निस्किएन । रजिमालाई सासै रोकिए झैँ भयो ।
परिस्थिति यस्तो थियो कि न के भयो भनेर सोध्ने कोही थिए न त रजिमाको नजिक सुनाउने केही थिए । काखमा ९ महिना लागेकी छोरी मात्र थिइन ।
जसोतसो आँट बटुलेर माइतीका दाइलाई फोन लगाउनुभयो ।
‘मलाई त के गरौँ, छोरीलाई फालेर जङ्गलतिर गएर मरौंजस्तो लाग्यो, तर फेरि छोरीको माया लाग्यो’ परदेशमा श्रीमानको प्राण गएको खबर सुन्दाको त्यो क्षण सम्झँदै रजिमा भन्नुहुन्छ ‘दाइलाई फोन गरेर ज्वाइँ त बित्नुभयो रे दाइ छिटो आउनुस् न चाहिँ भनेछु, त्यसपछि के भयो तीन दिनसम्म मलाई केही थाहै भएन ।’
यूएई गएका श्रीमानले २०७७ सालको जेठ १ गते संसार छाडे । दुई दिनपछि रजिमाले खबर पाउनुभयो । खुसी लिन परदेश गएको पाँच महिनामै संसारबाट सधैँका लागि बिदा भएका श्रीमानले रजिमाको संसार पनि आफ्नो मृत्युसितै लिएर गए ।
पाँचथरको फिदिम नगरपालिकाकी राजिमा १० कक्षामा पढ्दै हुनुहुन्थ्यो । उमेरले १४ वर्ष मात्र टेक्नुभएको थियो । एक दिनको देख भेटमा आफूभन्दा उमेरले ११ वर्ष जेठा केटासँग २०७४ सालमा रजिमाले भागी बिहे गर्नुभयो ।
परिवारका एक मात्र छोरा थिए उहाँका श्रीमान् । घरमा सौतेनी सासू र ससुरा थिए । आमाजू दिदीको बिहे भइसकेको थियो । परबाट हेर्दा त परिवार सुखी नै थियो । तर बुहारी भएर त्यो घरमा भित्रिएको दिनदेखि रजिमाको संसार अर्कै भयो ।
पढ्दा पढ्दै बिहे गरेकाले रजिमा नियमित स्कुल जान चाहनुहुन्थ्यो । राम्रो अङ्कसहित एसइई पास गरेर उच्च शिक्षा अध्ययन गरोस् भन्ने चाहना श्रीमान् स्वंयमकाे पनि थियो ।
‘माया गरेको जस्तो पनि गर्नुहुन्थ्यो, फेरि गरिबकी छोरी खान नपाएर आएकी भन्नुहुन्थ्यो, उहाँले भनेको शब्दहरु त के के हुन के के कतिपय कुरा त बुझ्दिन थिएँ’ रजिमा सासू आमाले गरेको व्यवहार सुनाउनुहुन्छ ‘तिमीलाई त तिम्रो बुढाले पढाउन पर्छ मेरो बुढोले तिमीलाई पढाउन ल्याएको हो, मेरो बुढोसँग आएको हो तिमी भन्नुहुन्थ्यो ।’
मायालु लबजमा सासूले धेरै पटक छुट्टिएर बस्ने सल्लाह दिनुभयो, फकाउनु पनि भयो । तर त्यो बेलामा सासूले बुढाबुढी मात्र बसभन्दा रजिमाको मनमा भात खान कसले देला भन्ने पिर पथ्र्यों । घरबाट निस्किएपछि भात खान नपाइने डरले पनि सासूले भनेको र गरेका व्यवहार श्रीमानलाई सुनाउने आँट गर्नुहुन्न थियो ।
बिहे गरेको करिब एक वर्ष जसो तसो चल्यो । तर एक दिन रजिमा दम्पतीलाई परिवारले घरबाट निकालिदिए । घरभन्दा माथि जङ्गलको छेवैमा रहेको गोठमा बस्न भनियो । रजिमा श्रीमानको पछि लाग्नुभयो । जङ्गलको छेवैको गोठमा श्रीमान् श्रीमती बसे । भागमा आएको बाँझो जमिन फोरे । अरूको ज्याला मजदुरी गरेरै भए पनि जीवन अघि बढाए ।
२०७६ सालको साउनमा छोरी जन्मिइन । दुई ज्यान तीन भएपछि खर्च बढ्यो । दैनिक आवश्यकता पूर्तिकै लागि ऋण नगरी नहुने भयो र त्यो ऋण दिनदिनै बढ्दै गयो । त्यसपछि २०७६ सालको मङ्सिरमा ४ महिनाकी छोरी र रजिमालाई घरमा एक्लै छाडेर कामको खोजीमा श्रीमानले यूएईको बाटो समात्नु भयो ।
रजिमाले अलिअलि बस्तुभाउ पाल्नुभयो । खेतीपातीसँगै काँचो कागज बनाउँदै गुजारा गर्नुभयो । यूएईमा श्रीमानले पनि सेक्युरिटीको काम पाएका थिए । यूएई गएको केही महिनापछि ऋण तिर्न र घर खर्च भन्दै श्रीमानले ६० हजार रुपैयाँ पठाए पनि । श्रीमान् परदेशीएको पाँच महिना पूरा भएर ६ महिना लाग्दालाग्दै संसारलाई कोरोना महामारीले सन्त्रस्त बनायो । नेपालमा पनि कोरोना सङ्क्रमण रोकथाम गर्न लकडाउन गरिएको थियो ।
यूएईको ट्रान्सगार्ड कम्पनीमा सेक्युरिटी गार्डको काम भएकाले रजिमाका श्रीमानको काम अलिअलि चल्दै थियो । फोनमा नियमित जसो कुरा भइरन्थ्यो । ३ दिन अघि फोनमा कुरा हुँदा अलिअलि खोकी लागेको छ भनेका थिए श्रीमानले । ३ दिनपछि तलब आउँछ र फोन गर्छु है भनेका श्रीमानको एकाएक मृत्युको खबर कानमा पर्यो ।
‘पैसा नभएको बेला बुढोले मलाई दुई तीन दिनमा मात्रै फोन गर्नुहुन्थ्यो, त्यो बला पनि त्यही भन्नुभएको थियो, म त फोन कुरेर बसेकी थिएँ, तर मसँग कुरा भएको राती नै बित्नुभएछ’ श्रीमान् बितेको त्यो दिनबारे सम्झँदा रजिमाको गला अवरुद्ध हुन्छ ।
परिवारबाट साथ र सहयोग नपाएकै कारण ४ महिने सुत्केरी रजिमालाई एक्लै छाडेर परदेशीएका थिए श्रीमान् । मूल घर र रजिमा बस्ने घरको दुरी करिब ४५ मिनेटको थियो । परिवारका सदस्य मन खोलेर बोल्दैन थिए उहाँसँग । त्यही कारण भौतिक दुरीजस्तै रजिमा र परिवारबीच मनको दुरी पनि बढेको थियो ।
‘उहाँ जिउँदो हुँदा त मलाई वास्ता गरेनन् ठिक छ, तर हेर्नु त मेरो बुढो मरेको खबर अघिल्लो दिन नै थाहा पाएर पनि मलाई केही भन्नुभएन, उल्टो आएर हाँस्दै पो सुनाउनुभएको थियो आमाले त्यो खबर’ त्यस दिनदेखि रजिमालाई मानवता नभएका मानिस पनि हुँदा रहेछन् भन्ने अनुभव भयो ।
श्रीमान् बितेको खबर सुनेको तेस्रो दिन राम्रोसँग होस् आउँदा रजिमालाई मूल घरमा ल्याइएको थियो । माइतीका दाजुभाइ पनि थिए । गाउँलेहरूको ठुलै भिड थियो ।
‘मेरो भाइ खाएर पनि किन नाटक गरेकी’ नजिकै बसेकी आमाजू दिदी(श्रीमानको दिदी)को आवाज रजिमाको कानमा पर्यो ।
आफूले मुखले खाएको भए त पेटमा पुगेका श्रीमानलाई मुखैबाट निकाल्थेंजस्तो लाग्यो रजिमालाई । तर मनको शब्द मुखबाट बाहिर निस्कनु भनेको ज्यान दाउमा लगाउनु सरहको थियो अवस्था ।
यो बालखा छ भनेर परिवारका कसैले दया देखाएनन् । श्रीमान् गुमाउनुको पीडा मलम लगाउनुको साटो श्रीमान् खाएको, यो बच्चा पनि मेरो भाइको होइन भन्नेजस्ता नमिठा बचनले पलपलमा घोचिरह्यो ।
‘मेरो त अनुहार देख्यो कि थुक्नुहुन्थ्यो आमाजू दिदीले, सासूले पनि त्यस्तै गर्नुभयो, बिस्तारै मसँग कोही बोल्न छाड्नुभयो, म सकी नसकी काम गर्न खोज्थेँ तर मलाई भाँडा पनि छुन नदिने, नजिकै पर्न नदिने, अनुहार नै नदेखा भन्नुहुन्थ्यो’ रजिमा श्रीमान् गुमाएपछि परिवारले गरेका व्यवहार सुनाउनुहुन्छ ।
हिंसाको रूप बचनमा मात्र सीमित भएन । बिस्तारै कुटपिट पनि भयो । रजिमाका माइती आए । गाउँले पनि बोलाएर भेला गरे । तर सासू र आमाजूले उल्टै रजिमाले आफूहरूलाई कुटेको आरोप लगाए ।
‘उठेर हिँड्न पनि नसक्ने अवस्था थियो, त्यो बेला म उहाँहरूको बोली सुन्दा थरथरी काँप्थेँ, कुट्नु कसरी, उहाँहरूले नै मलाई कपाल जगल्ट्याउनु हुन्थ्यो, मेरो अनुहार भरी घाउ र खत थिए’ रजिमा भन्नुहुन्छ ‘मलाई त बारम्बार एउटै कुरा मेरो भाइ खाइहालिस् अब किन यहाँ बस्छेस् जा मात्र भन्नुहुन्थ्यो ।’
हरेक बोली र व्यवहार रजिमा चुपचाप सहनुहुन्थ्यो । तर बिस्तारै परिवारको घृणा यतिसम्म बढ्यो कि रजिमालाई मात्र होइन सानी छोरीलाई समेत खाना दिन छाडे ।
भोकले छट्पटीएकी छोरीको रुवाइले रजिमालाई मागेरै खुवाउन बाध्य बनायो । छिमेकीहरूसँग भान्सामा पाकेको वा उब्रिएको जे भए पनि मागेर छोरीको भोको पेट भर्नुभयो ।
‘भोकले मेरो छोरी रोएको रोएकै गर्दा पनि उहाँहरू आफू मात्र खाना खानुहुन्थ्यो, हामी आमा छोरीलाई दिनु हुन्न थियो, छोरी बोकेर खाना उब्रिएको छ कि भन्दै म गाउँ डुल्थेँ, जे भेटिन्थ्यो त्यही खुवाउँथेँ’ रजिमा छोरीतिर हेर्दै आँसु खसाल्नुहुन्छ ।
परदेशी भूमिमा प्राण गुमाएका श्रीमानलाई सम्झँदा रजिमालाई बाच्नु बेकार छ जस्तो लाग्थ्यो । फेरि आँखै अगाडि आफू सँगसँगै रोइरहेकी छोरी हेर्दा आफ्नो भाग्य लेखिदिने भावीसँग चित्त दुखाउँदै सम्हालिनुहुन्थ्यो ।
बालखैमा बिहे हुनु, परिवारले पनि अवहेलना गर्नु, माया गर्ने एक श्रीमानलाई पनि भगवानले आफैँसँग लैजानु कुनै संयोग नभई आफ्नै दुर्भाग्य ठानेर आफैँलाई धिक्कार्नुहुन्थ्यो ।
कोरोनाको कारण ज्यान गुमाएकाले रजिमाका श्रीमानको शव नेपाल आएन । यूएईमै अन्त्येष्टि गरियो । करिब २२/२५ दिनपछि अस्तु र कागजात घर आयो । विदेशबाट कागजात आएपछि ससुरा कहिले वडा कार्यालय त कहिले फिदिम सदरमुकाम धाउन थाले । एक दिन रजिमालाई विदेशमा ज्यान गुमाउनेहरूको नाममा आउने पैसा लिनका लागि ससुराले प्रक्रिया गरेको थाहा थियो ।
‘मलाई केही नभनी बुवाले त कागजात बनाइसक्नुभएछ, त्यो थाहा पाएपछि मैले वडामा फोन गरेर भनेँ, उहाँहरूले त्यसपछि रोकिदिनुभएछ’ रजिमा भन्नुहुन्छ ‘त्यसपछि मलाई झन् घरमा बसिनसक्नुको व्यवहार हुन थाल्यो ।’
जिल्ला प्रशासन कार्यालय पाँचथरमा रहेको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता अग्नि दुलालका अनुसार, रजिमाका ससुरा छोरो अविवाहित भएको भन्दै वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायताको लागि प्रक्रिया गरिदिन भन्दै केन्द्रमा जानुभएको थियो ।
तर स्रोत केन्द्रले छोरो अविवाहित हो भने अविवाहित हो भनेर वडाले गरेको सिफारिस लिएर आउन भनेपछि झुट पक्रियो । घरमा बुहारी र नातिनी हुँदाहुँदै आफ्नो नाममा रकम लिन आएको कुरा खुलेपछि आप्रवासी स्रोत केन्द्रले वडामा फोन गरेर थप जानकारी लियो ।
‘हामीले नै वडामा समन्वय गरिदियौँ, उहाँको त नागरिकता पनि रहेनछ, स्रोत केन्द्रले नै जिल्ला प्रशासन कार्यालय र वडासँग समन्वय गरेपछि नागरिकता पनि बन्यो । पालिकाबाटै सबै प्रक्रिया पुर्याएर निवेदन समन्वय गरिदियौँ, रजिमाले बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता रकम पाउनुभयो’ परामर्शकर्ता दुलालले भन्नुभयो ।
रजिमाले वैदेशिक रोजगार बोर्डबाट ७ लाख रुपैयाँ र बिमामार्फत १३ लाख रुपैयाँ आर्थिक सहायता पाउनुभयो । आर्थिक सहायताबाट आएको रकमबाट श्रीमानले काढेका सबै ऋण तिर्नुभयो । ऋण तिरेर बचेको जति रकम छोरीको नाममा बैङ्कमा राखिदिनुभयो ।
कलिलो उमेर । साथमा काखे छोरी । रजिमालाई चाहिएको त परिवारको साथ थियो । तर जसको साथको आवश्यकता थियो, उनीहरूसँगै लडाइ पर्यो । तर, दुःखमा परिवारले गरेको अवहेलनाले रजिमालाई कमजोर मात्र बनाएन, बलियो भएर बाँच्ने आत्मबल पनि दिलायो ।
परदेश उड्ने बेला रजिमालाई श्रीमानले भनेका थिए ‘तिमी राम्रोसँग पढ्नु, छोरीलाई पनि पढाउनु, आमा शिक्षित भए मात्र बच्चालाई पनि राम्रो शिक्षा दिन सकिन्छ ।’ रजिमालाई श्रीमानको यही कुराले फेरि स्कुल डोहोर्यायो । माइतीघरमा बसेर २०७७ सालमै एसइइ दिनुभयो । उच्चा शिक्षा पढ्न पाउने ग्रेड आएपछि रजिमालाई थप पढ्नपर्छ भन्ने लाग्यो ।
गाउँकै हेडसरको बजारमा घर थियो । आफ्नो परिस्थिति बुझेका सरलाई फोन गरेर घरमा एउटा कोठा दिन अनुरोध गर्नुभयो । साथै राम्रोसँग पढेर भविष्यमा केही बन्न प्रतिबद्धता पनि गर्नुभयो ।
‘सरले घरमा एउटा कोठा पनि दिनुभयो अनि यहाँ कलेजमा पनि कुरा गरिदिनुभयो, त्यसपछि म २०७८ सालको भदौमा बजार झरेको हुँ, अहिले ११ कक्षा पढ्दै छु’ रजिमाले भन्नुभयो ।
रजिमाको कोठा भूईँतलामा छ । सानो कोठामा दुई वटा खाट, एउटा पढ्ने टेबल र खाना पकाउने ग्यास र ग्यास राख्ने र्याक पनि छ । कोठा अँध्यारो छ । दिउँसै बत्ती बाल्न पर्ने । सानो झ्याल त छ, तर उज्यालो पस्दैन ।
पातलो ज्यान । लामो कपाल । गोरो अनुहार । उमेरले २० वर्षमा हिँड्दै गरेकी रजिमालाई देख्दा उनी विवाहित हुन्, ३ वर्षकी छोरीकी आमा हुन् भन्ने लाग्दैन, बरु स्कुल पढ्ने सानी केटी हुन् जस्तो लाग्छ । तर २० वर्षे उमेरमा उनले भोगेका दुःख र हैरानीले उनलाई पाको बनाएको छ ।
रजिमा हत्तपत्त नयाँ मानिससँग बोल्न त परै जाओस्, नजिक पर्न पनि चाहनुहुन्न । किनकि घर र गाउँ छाडे पनि परिवारले लगाउने आरोप र परिवारसँगको उहाँको लडाइ सकिएको छैन ।
श्रीमान् गुमाएपछिका कुनै दिन पनि रजिमाले शान्तिको सास फेर्न पाउनुभएन । माइतीको बोझ बन्न आफैँले चाहनुभएन । जो जीवनमा ढाल बनेर उभियोस् भन्ने चाहना थियो उनीहरू त आफ्नो हुँदै भएनन् ।
वैशाखको मध्यतिर हामीले भेट्नुभन्दा केही दिन अघि मात्रै रजिमालाई परिवारले लगाएको अर्को अकल्पनीय आरोपले उनको मनलाई पुनः एक पटक नराम्रोसँग हल्लायो ।
‘हेडसरलाई फोन गरेर ससुराले सबै सम्पत्ति लिएर बुहारी पोइल गई भन्दिनुभएछ, हेड सरले मलाई नानी तिमीले त यस्तो पो गर्यौँ रे त भन्नुभयो म छक्क परे’ रजिमा दिक्क मान्दै भन्नुहुन्छ ‘म सरकै घरमा बस्छु र पो उहाँले म के गरिरहेको देख्नुहुन्छ, अरुलाई म यो आरोप गलत छ भनेर कसरी प्रमाणित गरौँ ।’
आफ्नैले गरेको पराए व्यवहार सम्झँदा अरूले त झन् के के कुरा काट्दा हुन् भन्ने कल्पना मात्रै गर्दा पनि मन कटक्क दुख्छ रजिमाको ।
उहाँ अघि बढ्न चाहनुहुन्छ । सकेसम्म दुःखलाई भुलेर छोरीका लागि भए पनि आत्मनिर्भर बन्ने मन छ । तर जतिपटक पाइला अघि बढाउँदा पनि आफ्नै मानिस बाधक बन्दा मनको घाउमा खाटो बस्नै पाउँदैन । आँखा ओभाउनै पाउँदैन ।
बजारमा कोठा भाडा तिर्नदेखि कलेजको शुल्क तिर्नसम्म अहिले माइतीले सहयोग गरेका छन् । बिहानै निदाइ रहेकी छोरी छाडेर कलेज जाँदा छोरी हेरिदिएर कोठामा सँगै बस्ने साथी र छिमेकीले पनि ठुलो गुन लगाएका छन् रजिमालाई । दिउँसो कम्प्युटर सिक्न भने छोरीलाई पिठ्युँमा बोकेरै जानुहुन्छ ।
ठुला सपना केही देख्नुभएको छैन अहिले रजिमाले । परिवारले साथ नदिए पनि दुःख नथपी दिए हुन्थ्यो भन्ने कामना गर्नुहुन्छ । परिवारले यति मात्रै गरिदिए आफू १२ कक्षासम्म पढेर केही जागिर खाने र छोरीलाई राम्रोसँग पढाउने रजिमाको चाहना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।