नेपालकाे भूमि चीनविरुद्ध प्रयाेग हुने नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री

 साउन २६, २०७९ बिहिबार २०:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चीन भ्रमण पूरा गरेर परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का स्वदेश फर्कनुभएको छ । तीन दिने भ्रमण पूरा गरी स्वदेश फर्किनुभएका खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरामा चिनियाँ पक्षलाई ढुक्क बनाएकाे बताउनुभयो । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको उहाँकाे भनाइ छ ।

भ्रमणका क्रममा भेटवार्तामा चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउर्ने, भौतिक पूर्वाधार, विपद व्यवस्थापन र स्वास्थ्य सामग्रीलगायतका विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्नेलगायतका विषयमा सहमति भएको छ । 

यस्तै भेटवार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवर्द्धन गर्ने सहमति भएको बेइजिङमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार चीन र नेपालबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएका छन् । चीनले काठमाण्डौ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ ।

विदेशमन्त्री वाङ नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत हुनुका साथै नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि सहमत हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया