ललितपुरको पाटनमा दीप यात्रा मतया सुरु, आज पाटनमा गाडीको आवागमन प्रभावित हुने

 साउन २८, २०७९ शनिबार ८:३६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - ललितपुरको पाटनमा दीप यात्रा मतया सुरु भएको छ । मतया बिहान ४ बजे कोबहालबाट सुरु भएको स्थानीय जुजुभाइ शाक्यले बताउनुभयो ।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयामा पाटनका भित्री सहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ ।

विशेष गरेर बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवङ्गत भएका आफ्ना आफन्तजनको सम्झनामा धान, चामल, पैसालगायतका विभिन्न सामग्री दान दिँदै हातमा दीप लिएर मतया जाने गर्दछन् । यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकोले यस यात्रालाई मतया भनिएको हो ।

कोबहालबाट सुरु भएको मतया चकबहिल, टङ्गल, लगनखेल, हख बहाल, पूर्णचण्डी, बुबहाल, गाबहाल, नबहील, श्रीबहाल, नटोल, पुल्चोक, नागबहाल भएर कोबहालमा पुगेर सकिनेछ । यात्राको क्रममा पाटनमा रहेको पुल्चोक, लगनखेल, ग्वार्कोको चारवटा थुर घुम्नु पर्दछ । आज दिनभरि नै पाटनमा विशेष चहलपहल हुन्छ ।

यात्रामा सरिक भएकाहरुलाई पानी, जुस, प्राथमिक उपचार सेवा दिन स्थानीय बासिन्दा र स्वयम्सेवक जुट्ने भएकोले आज दिनभरि नै पाटनमा यातायात आवागमन प्रभावित हुनेछ । पाटनको मतयामा मङ्गलबजार, सौगल, नागबहाल लगायत १० वटा टोलले पालैपालो व्यवस्थापनको जिम्मा लिएर सञ्चालन गर्ने गर्दछ । यसपालिको मतया कोबहाल टोलले सञ्चालन गरेको छ । मतयाको अर्को आकर्षण भनेको नवबाजा पनि हो । मतयाको रुटमा परम्परागत धाः, दम्वःखिं , न्येकू लगायतका नवबाजा बजाएर जाने चलन छ ।

बाजा समूहले मङ्गलबजारको कात्तिक डबलीमा आज विशेष कार्यक्रम गर्ने गर्दछ । मतयाको तयारी स्वरुप पालो परेको टोलले एक वर्षअघि देखि नै आफ्नो टोलका युवा पुस्तालाई परम्परागत बाजाको प्रशिक्षण दिने गर्दछ । पाटनमा बाहेक मतया बुङ्गमती, खोकना, थैव लगायतका ठाउँमा पनि सञ्चालन गरिन्छ ।

मतया लिच्छवि राजा बालार्चनदेवको पालादेखि सुरु भएको विश्वास छ । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया