नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ कि फिर्ता हुन्छ भन्नेबारे चासो बढ्दो

 साउन २९, २०७९ आइतबार ७:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ कि संसदमै फिर्ता पठाउनुहुन्छ भन्ने चासो बढेको छ ।

संविधानले राष्ट्रपतिलाई संसदबाट पारित भएको कुनै पनि विधेयक एक पटक पुनर्विचारका लागि संसदमै फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर यस्तो निर्णय राष्ट्रपतिले १५ दिनभित्र लिइसक्नुपर्छ ।

साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । १५ दिनको समयसीमा आज सकिँदैछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहले विधेयक फिर्ता पठाउन माग गरिरहेका छन् । यसबीचमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री, कानुनमन्त्री, महान्यायाधिवक्ता लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिसक्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विज्ञहरुसँगको परामर्शपछि विधेयक प्रमाणीकरण गर्ने या संसदमा फिर्ता पठाउने भन्ने निर्णय गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ११३ को उपधारा ४ ले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने तर सच्याउनैपर्ने बाध्यता नहुने उल्लेख छ ।

फिर्ता भएको विधेयक फेरि संसद् बैठकमा पेस गर्नुपर्ने र बैठकले संसदमै छलफल गरेर टुङ्ग्याउने वा संसदीय समितिमा पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ । यसअघि प्रतिनिधि सभामा भएको छलफलमा नागरिकता विधेयक अपुरो भएको र पर्याप्त छलफल नगरि पारित गर्न लागिएको भन्दै कतिपय सांसदहरूले असन्तुष्टि जनाएका थिए । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया