भक्तपुरमा मल्लकालीन तान्त्रिक भैरव नाच सुरु, चार दिन चार रात चल्ने

 साउन २९, २०७९ आइतबार ८:३८:१६ | रासस
unn.prixa.net

भक्तपुर - ४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल : अर्थात भैरव नाच यस वर्ष हिजाे राति ८ बजेदेखि सुरु भएको छ । 

मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच हिजाे राति ९ बजेदेखि सुरु भएकाे हाे । 

हिजाे राति नै विभिन्न टोलमा चार दिन चार रात सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवम् प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैल : सञ्चालन समितिले जनाएको छ ।

दुई वर्ष यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवम् ऐतिहासिक भैरव नाच गएकाे दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन सुरु भएको हो । भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवम् व्यवस्थापन समितिका संयोजक एवम् गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । 

भैरव दुई, दाःगि अर्थात कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण रहने लाय्कू भैल : नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गरिने छ । नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँगअर्थात कपालको बिंया, अक्षता, ताय भएको भाडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।

नाचका क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाइ सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । 

शास्त्रीय एवम् तान्त्रिक विधिको प्रयोग गरी देवगणको शरीरमा शक्ति प्रवेश गराइ नाच नचाउने परम्परा रहेको श्रेष्ठको भनाइ छ । उनीहरुलाई तीन हप्तादेखि प्रत्येक दिन बेलुका नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । नाच सञ्चालनका लागि आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन् । 

धाः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य) को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोच्चारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ । 

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएर हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वानसँग छलफल गरी स्थानीय मानिसमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराइ क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्वदन्ती रहेको गुरु श्रेष्ठ एवम् यहाँका अन्य बासिन्दाले जानकारी दिनुभयो ।

हिजाेदेखि नाच प्रदर्शन गर्न स्थानीयवासी एवम् युवाको सक्रिय सहभागिता रहेको छ भने रातको मतलब नगरि हजारौँ स्थानीयवासीले नाचको अवलोकन गरेका छन् । नाच नाच्दा तान्त्रिक शक्ति प्रवाह भएर नाच नाच्ने परम्परा रहेको बताइएको छ । हिजाेदेखि मध्यपुरथिमिको दिगु टोलमा महाकाली नाच सुरु भएको छ । चार रातसम्म सञ्चालन हुने महाकाली नाच पनि तान्त्रिक विधिअनुसार नै प्रदर्शन गरिने परम्परा छ । 

यता मध्यपुरथिमिको बोडेमा हिजै रातिदेखि नीलबाराही नाच सुरु भएको छ । यो नाच चार दिनसम्म लगातार बोडेको विभिन्न टोलमा प्रदर्शन हुने गरेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिदेखि अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म बोडेमा चल्ने नीलबाराही हिजाे रातिदेखि सुरु भएको हो ।

सबै तस्बिर : रासस

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया