नेपाली टाेलीकाे ब्याटिङ २/३ महिनामा नै सुधार हुन्छ : प्रशिक्षक प्रभाकर

 साउन २९, २०७९ आइतबार १८:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले दुई/तीन महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् । 

आज आइतवार आयाेजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई दुई/तीन महिनामा नै सुधार गर्ने बताएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आएका थिए ।  

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतवार कीर्तिपुरकाे त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरूमा भएको कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे । प्रभाकरले नेपाली खेलाडीले आईपीएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए । विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरैभन्दा धेरै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए ।

नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि धेरैजसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरू छन् । तर पछिल्लो समय टोलीभित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ । खेलाडीबीच गुट/उपगुट पनि टोलीको अर्को समस्या रहेको छ । यस्तै अवस्थामा कसरी अगाडि बढाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकरले कुनै पनि परिवारभित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवारभित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने उनले  बताए ।

अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ । खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरूका लागि सिकाइ महत्त्वपूर्ण हुने प्रशिक्षको बुझाइ छ । यस्तै उमेर समूहले छिटो सिक्ने र परिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकर व्यक्त गरे । प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेको राजीनामापछि नेपाल आएका हुन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया