सिट बाँडफाँटकाे टुङ्गाे चाँडै गर्नुपर्छ : मन्त्री कार्की

 साउन ३०, २०७९ सोमबार २०:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका लागि कामलाई व्यवस्थित रूपले अघि बढाएको जनाएको छ । आज साेमवार बालुवाटारमा बसेकाे बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे जानकारी दिनुभएकाे हाे ।  

मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा विसं २०७४ सालको चुनावमा प्राप्त मत, समानुपातिक मत र २०७९ मा पालिका चुनावमा प्राप्त गरेको मतलाई आधार बनाउने बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा चुनावमा प्रतिस्पर्धा नगरेकाले त्यसलाई विशिष्ट रूपमा राख्दै  मापदण्ड तय गर्ने बताउनुभयो । सिट बाँडफाँटको टुङ्गो सकेसम्म आउँदो बुधवारसम्म सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ । उहाँले सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुङ्गोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनसाय रहेको बताउनुभयो । 

मन्त्री कार्कीले सरकारले कसैकोविरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रूपमा कुरा अघि बढाएको बताउनुभयो । सिट बाँडफाँट कार्यदलको बैठक बुधवार दिउँसो ४ बजे बस्नेछ ।  

यसैबीच मन्त्री कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आइतवार बेलुकी पुनर्विचारका लागि नागरिकता विधेयक सङ्घीय संसद्मा फिर्ता पठाउने निर्णय गर्नुभएको थियो । ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाउनुभएको थियो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया