खाडीको गर्मीमा हेलचेक्र्याइँ गर्नु हुँदैन

 साउन ३१, २०७९ मंगलबार १२:२१:३५ | महेश्वर नेपाल
unn.prixa.net

खाडीका देश नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश हुन् । यी देश नेपालभन्दा एकदमै गर्मी हुने देश हो । मरुभूमिको देश भनेर पनि चिन्छौँ ।

तर साउदी र ओमानका केही भूभागमा त नेपालकैजस्तो चिसो पनि हुन्छ । तर समग्रमा भन्दा गर्मी धेरै हुन्छ । नेपालको भन्दा फरक हावापानी र रहनसहन भएको देशमा रोजगारीका लागि जाने भएपछि सबैभन्दा पहिला त म यस्तो देशमा जाँदै छु है भनेर आफ्नो दिमागलाई तयार बनाउन पर्छ ।

यस्तो छ है मैले यस्तो परिस्थितिको सामना गर्न पर्छ भन्ने कुरा दिमागमा लिएर जाँदा त्यहाँ पुगेपछि घुलमिल हुन सहज हुन्छ । म सर्वप्रथम २००९ को जुलाईमा कतार गएको थिएँ । जब म प्लेनबाट बाहिर निस्किएँ एकदमै तातो हावा र के गन्हाएजस्तो अनुभव भयो ।

सुरुमा प्लेनबाटै इन्जिनको केही गन्ध आएको होला जस्तो लागेको थियो । तर त्यो होइन रैछ । गर्मीको कारण मलाई त्यो महसुस भएको रहेछ । गर्मीको बेला जानुभयो भने तपाईँहरूलाई पनि यस्तो अनुभव हुन सक्छ ।

यहाँबाट जाने बित्तिकै कम्पनीले काममा लगाइहाल्छ भन्ने हुँदैन । कम्पनीले आफ्नो केही प्रक्रियाहरू पूरा गरेपछि मात्र काममा लगाउने हो । काम अनुसारको तालिम, सुरक्षा लगायतका कुराहरू सिकाउँदासम्म त्यहाँ घुलमिल हुन सहज हुन्छ । 

खाडीका देशमा सबैले गर्ने काम घरभित्र वा एसीभित्र हुन्छ भन्ने हुँदैन । बाहिर काम गर्नेहरूले धेरै कुरामा ध्यान दिनुपर्छ । हलुका कपडा लगाउनुपर्छ । सेफ्टी प्रोटकल अपनाउनुपर्छ । हेल्थ एण्ड सेफ्टी अफिसरहरू हुन्छन् कम्पनीमा । उहाँले ब्रिफिङ दिएपछि बल्ल साइटमा जाने हो । काम गर्दाखेरि पनि सेफ्टीका नियम पालना गरेको छ कि छैन भनेर हेर्ने सेफ्टी अफिसरको काम हो । त्यहीअनुसार आफूले ध्यान दिनुपर्छ । बिस्तारै आफूलाई अनुभव हुँदै जान्छ । 

गर्मीको समयमा श्रमिकहरूले स साना कुराहरूमा ध्यान दिनुपर्छ । पहिलो त आफू के काम गर्दै छु र त्यो काम गर्दाखेरि सेफ्टीका कुरा अपनाउनुपर्छ । हाइ एक्सेसमा काम गर्दा डोरीको स्थिति के छ थाहा पाउनुपर्‍यो ।

स्काफोल्डिङमा काम गर्दा डण्डीहरु राम्रोसँग जोडिएको छ कि छैन राम्रोसँग जाँचेर चढ्नुपर्‍यो । त्यसमा लगाइएका फ्लेकको स्थिति के छ बुझेर काम गर्नुपर्छ । गर्मी हुन्छ, तातो हावा चल्न सक्छ जसको कारण चक्कर आउन सक्छ । यस्ता कुराले के हुन्छ र भन्ने सोच्छौँ जसले गर्दा ठुलो दुर्घटना हुनसक्छ । 

तापक्रम धेरै बढेको बेला प्रशस्त मात्रामा पानी पिउनुपर्छ । बाहिर काम गर्दा पसिनाले लुगा भिज्छ र कति पटक सुक्छ भन्ने नै थाहा हुँदैन । तसर्थ पानी प्रशस्त मात्रामा पिउनुपर्छ । काम गर्दाखेरि प्रत्यक्ष घाम पुग्ने ठाउँमा भए आराम गर्दै गर्नुपर्छ ।

अहिले खाडीको देशमा गर्मी हुने समयमा कुनैमा बिहान १० देखि ३ बजेसम्म कुनैमा १२ देखि ४ बजेसम्म आराम गर्ने समय तोकिदिएको छ । कतिपय कम्पनीमा त ब्रेक टाइममा पनि कहाँ आराम गर्ने भन्ने हुन्छ । यस्तो बेला छाया पर्ने ठाउँमा आराम गर्नुपर्छ ।

कतिपय साथीहरू खजुरको बोटमुनि शीतल तापिरहेको देखेको छु मैले । उहाँहरूको बस्ने क्याम्प एक ठाउँमा हुन्छ, साइट अर्को ठाउँमा हुन्छ । आउन जानको लागि टाइम लाग्ने भएकाले पनि कम्पनीहरूले ब्रेकको टाइममा रुममै लिएर आउँ भनेर प्राय गर्दैनन् । नजिक साइट हुनेहरूलाई त आउजाउ गर्न सजिलो हुन्छ तर टाढा साइट हुनेहरूलाई त्यो सम्भव छैन । 

त्यसैले प्रशस्त रूपमा पानी भने पिउन पर्छ । आफ्नो पिसाबको रङ्ग कस्तो छ बेलाबेला जाँच गरिरहनुपर्छ । एलर्जी हुने, नाथ्री फुट्ने पनि हुनसक्छ । यस्तो समस्या भए नजिकको सुपरभाइजरलाई भन्ने हेल्थ एण्ड सेक्युरिटी अफिसरलाई भन्नुपर्छ ।

यस्तै पछिल्लो समय गन्तव्य देशका सरकारले दिउँसोको समयमा खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएका छन् । यस्तो अवस्थामा श्रमिकले आफ्नो गुनासोहरू राख्न सक्नुहुन्छ । त्यहाँ गुनासो राख्ने नम्बरहरूको व्यवस्था गरिएको हुन्छ । ती नम्बरमा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिन्छ । 

आफ्नो लोकेसन सहित गुनासो गरेमा सम्बन्धित निकायले अनुगमन गरेर कारबाही गर्छ । यस्ता प्रकारका समाचारहरू पनि आइरहेको हुन्छ । त्यहाँका सम्बन्धित मन्त्रालयले पनि गर्मीको समयमा नियम उलङ्घन गर्ने यति कम्पनीलाई कारबाही गरियो भनेर सूचना सार्वजनिक गरिरहेको हुन्छ ।

कोठामा ध्यान दिनु पर्ने कुरा

दिनभरि चर्को कामबाट कोठामा आइसकेपछि पनि धेरै कुरामा ध्यान दिनुपर्छ । बिहान तीन बजे उठेर चार बजेदेखि १० बजेसम्म ड्युटी हुन्छ । त्यसपछि १० देखि दुई तीन बजेसम्म ब्रेक हुन्छ । त्यसपछि बेलुका सात बजेसम्म साइटमा काम गर्ने साथीहरू धेरै हुनुहुन्छ ।

उहाँहरूले कोठाको एसी खुल्ला छाडेर जारमा पानी भरेर रुममा राखेर जानुहुन्छ । बेलुका फर्केर आउँदा त्यो चिसो पानीले नुहाउन पाइन्छ भनेर त्यसरी जानुहुँदो रहेछ । तर एक्कासि चिसो पानीले नुहाउनु हुँदैन । कोठाको तापक्रम पनि त्यति चिसो बनाउनुहुँदैन । आफ्नो शरीरले मागेअनुसारका तापक्रम मेन्टेन गर्नुपर्छ । 

अर्को कुरा खानपान हो । धेरै माछा मासु र गर्मी हुने चिज मसला धेरै खानुहुँदैन । सकेसम्म पानी र झोलिलो पदार्थ पिउने गर्नुपर्छ । हरियो सागपात खाने । अघिल्लो राति पकाएको खाना बिहान खाएर काममा जान्छन् ।

कतिपय साथीको त कम्पनीले खाना खाने समयमा लिएर जान्छ । तर आफूले त्यसरी लिनुपर्दा काम गर्ने स्थलमा राख्ने ठाउँ नहुन सक्छ । गर्मीमा डब्बामा हालेर खाना राख्दा बिग्रिन्छ । गर्मीमा अघिल्लो दिन पकाएको खाना भोलिपल्ट १२ बजे खाँदाखेरि त्यो बिग्रिसकेको हुन्छ ।

यस्तै खाडी देशहरूमा राति सुतेको मान्छे बिहान उठ्नुभएन भन्ने गुनासो सुन्न सकिन्छ । यो गम्भीर विषय पनि हो । मैले यस विषयमा एक जना डाक्टरसँग पनि कुरा गरेको थिएँ । उहाँले हामी सबैको मुटु एकै किसिमको हुँदैन भन्नुभएको थियो ।

विदेश जाँदा हामी सबैले छातीको एक्सरे गरेको हुन्छ । त्यसमा दाग छ कि छैन, पहिला निमोनिया वा टिबी भएको थियो कि थिएन भन्ने मात्रै चेक हुन्छ । रगतमा एचआइभी र हेपाटाइटिसको चेक हुँदो रहेछ । तर मुटुको कुनै चेक हुँदैन ।

मुटु सम्बन्धी कुनै रोग भएकाले पो त्यसरी ज्यान गुमाउने हुन् कि । त्यसैले यसबारे सबै सचेत हुनुपर्ने उहाँको सल्लाह थियो । गर्मी मात्रै सबै कारण होइन । अरू कारणले पनि यस्तो भएको हुनसक्छ । गर्मी सँगै अर्को मुटु रोग पनि हो कि जस्तो लाग्छ । सकेसम्म यहीबाट जाँदा मुटुको जाँच गरेर जाँदा राम्रो । नत्र उतै गएर पनि जाँच गर्दा राम्रो हुन्छ ।

खाडीमा काम गर्न जानेहरूले गर्मीबाट बच्ने उपाय सँगसँगै अरू कुरामा पनि ध्यान दिनुपर्छ । पहिलो कुरा त आफू के काम गर्न जाँदै छु, त्यो काम गर्न सक्छु कि सक्दैन त्यसमा आफूलाई कन्फिडेन्ट हुनुपर्‍यो । यस्तै कार्यस्थलको बारेमा जानकारी लिनुपर्छ ।

कस्तो प्रकृतिको काम हो, के कुरामा ध्यान दिने भन्ने लगायतका कुरा साथीहरूलाई सोधेर भए पनि जानकारी लिन पर्छ । यस्तै अप्ठेरो परेमा कसलाई रिपोर्टिङ गर्ने, ड्युटीमा पनि रिपोर्टिङ गर्नुपर्ने हुनसक्छ । फोरम्यान भन्छ त्यहाँ । 

कतिपय साथीहरूलाई आफ्नो अफिस, हेड अफिस कहाँ छ भन्ने पनि थाहा हुँदैन । अनि समस्या आइपर्‍यो भने कसलाई सुनाउने भन्नेसम्म पनि थाहा नभएको अवस्था छ ।

त्यो अवस्थामा पुगिसकेपछि कम्पनीमा काम गर्ने साथीहरूसँग सबै विवरण लिएर राख्न पर्छ र केही भइहालेमा बोल्ने बानी गर्नुपर्छ । बोल्न हिचकिचाउनु भएन । आफ्नो समस्या खुलस्त राख्न पर्छ ।

(नेपालसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: असोज ७, २०७९

1 Comments

  • Lok raj yogi

    Aug. 17, 2022, 12:10 a.m.

    हामी सबै प्रदेशिको लागि यो अनिबार्य छ हामी सबैले यी नियम पालना गरौ आफुले सिकौ र अरुलाई नि सिकाउ ।धन्यवाद सबै यो गुरुपका अग्रजहरुलाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया