कांग्रेसले गरायो दल दर्ता

 साउन ३१, २०७९ मंगलबार १७:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज मङ्गलवार आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो । 

दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । आउँदाे चुनावका लागि लगभग सबै दलले आयोगमा दल दर्ता गराइसकेका छन् । आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो । आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा आजसम्म दल दर्ता गर्ने समय दिएको थियो । 

दल दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति गुरुङले कांग्रेसले चुनावका लागि अधिकतम सिट खोज्ने तर सहमतिबाट तालमेल गरेर जाने बताउनुभयो । उहाँले सहअस्तित्व र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धताअनुसार नै सबैलाई समेट्ने बताउनुभयो । सबैलाई समेटेर जाने क्रममा धेर–थोरमा चित्त बुझाउनुपर्ने उहाँकाे भनाइ छ ।  

उपसभापति गुरुङले पार्टीभित्र सिट बाँडफाँटमा न्यायोचित व्यवस्थापन गर्नेबारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले कांग्रेसभित्र धेरै सक्षम नेता भएकोले सबैलाई व्यवस्थापन गर्न गाह्रो भए पनि हेर्दा, देखिँदा र सुन्दा न्यायोचित भएको अनुभूति गराउने प्रतिबद्धता जनाउनुभयो । 

यसैबीच उहाँले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर नेपाल समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरू चुनावमा प्रतिस्पर्धा गर्ने कुराले गठबन्धनको भागबन्डामा असर नपर्ने बताउनुभयो । उहाँले गठबन्धन दलभित्रका दलसँग मिल्न आउने अन्य दलले खासै असर नपार्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया