प्रदेश सरकार रहने वा नरहने विषयको टुङ्गो अबकाे ५ वर्षभित्र लाग्छ : गगन थापा

 भदौ ४, २०७९ शनिबार १४:७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुङ्गाे लाग्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताउनु भयो । उहाँले संघीय सरकारले प्रदेश किन बनाएको र के का लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको बताउनु भयो ।

महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने दाबी गर्नुभयो । उहाँले बाँकी ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकोले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने दाबी गर्नुभयो । 

‘हाम्रो संघीय व्यवस्थामा नै प्रदेशले जुन शक्ति आर्जन गर्नुपर्ने हो, जुन हैसियत आर्जन गर्नुपर्ने हो त्यो आर्जन गर्न सकिरहेको छैन । संघीय व्यवस्था बनाउँदै गर्दा हाम्रो स्पष्ट दृष्टिकोण थियो । किन तीन तहको सरकार बनायौँ भन्ने । सफलता प्राप्तिका लागि बनायौँ । तर प्रदेश सरकार सञ्चालनको प्रक्रियामा हामी सफल हुन सकेनौँ । यसलाई हमीले स्वीकार गर्नुपर्छ । संविधानको अभ्यास गर्ने क्रममा हामीले जे सोचेर प्रदेशहरु बनाएको हो, गएको ५ वर्षमा प्रदेश सरकारले त्यसरी सञ्चालन गर्ने क्रममा संघको सरकार पनि चुक्यो । हामीले प्रदेश किन बनाएको भन्ने कुरा बुझ्नै सकेनौँ । प्रदेश सरकार पनि चुक्यो । जस कारण नागरिक तहबाट हेर्दा प्रदेश किन चाहियो भन्ने प्रश्न उठेको अवस्था छ', उहाँले भन्नुभयो, 'संविधानले बनाएको संरचना ठिक ढंगले काम गर्न नसक्दै गर्दा पार्टीको संरचनामा रहेको प्रदेशलाई पनि कसरी काम गर्ने भन्ने अफ्ठ्यारो हुन्छ । यो मंसिरको निर्वाचनपछि जब ७ प्रदेशको संरचना फेरि बनाउँछाैँ, यो ५ वर्ष त हाम्रा लागि नयाँ अनुभव पनि भयो । अब आउने ५ वर्षमा पनि हामीले प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न सकेनौँ भने हामीले ल्याएको, हामीले भनेको, संविधानमा छ भनेर मात्रै यो बाच्दैन । यो बाच्ने कि नबाच्ने भन्ने कुरा हाम्रो कर्ममा भर पर्छ । प्रदेश सरकार टिक्ने कि नटिक्ने भन्नेकुरा अबको ५ वर्षमा थाहा हुन्छ । यसले काम गर्न सकेन भने यो टिक्दैन ।’

यस्तै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले ल्याएको दाबी पनि गर्नुभयो । उहाँले माधवकुमार नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा.बाबुराम भट्टराई र प्ष्पकमल दाहाल हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको बताउनु भयो । उहाँले नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको पनि बताउनु भयो । उहाँले एसपीपीले प्रकारान्तमा नेपाललाई अफ्ठ्यारो पार्ने भएकोले खारेज गरेको बताउनु भयो । महामन्त्री थापाले केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिवद्ध रहेको बताउनुभएको भन्दै नेपाली कांग्रेस एक चीन नीतिमा अडिग रहने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया