आउँदाे चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो, २ लाख जनशक्ति चाहिने अनुमान

 भदौ ५, २०७९ आइतबार २०:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । 

चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ भने झन्डै दुई लाख जना जनशक्ति लाग्ने अनुमान गरेको छ । 

यस्तै चुनावमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग हुनेछ । तीमध्ये आयोगबाट ४२ प्रकारका सामान र १५ प्रकारका सामान जिल्ला तहबाट खरिद गरिनेछ । प्रवक्ता शर्माले केन्द्रबाट खरिद गर्दा लागत कम हुने पाइएकाले त्यसअनुसार खरिद प्रक्रिया सुरु भइसकेको जनाउनुभयो । 

यस्तै एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गएको वैशाख ३० गते भएको पालिका चुनावमा दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त चुनाव चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो भएको र बदरको सङ्ख्या पनि बढाएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवार र  समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको चुनाव चिह्न समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिनुभयो । 

सङ्घीय चुनावका लागि एक सय ६५, प्रदेशतर्फ तीन सय ३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी पाँच सय तीन प्रकारका मतपत्र छपाइ हुने आयोगले जनाएको छ । मतदान केन्द्रमा चार वटा अलग–अलग मतपत्र, मत सङ्केत गर्ने ठाउँ, र मतपेटिकाको व्यवस्था गरिने आयोगले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया