कहिले पुराना नेताले छाेड्लान् र पार्टीले टिकट देला भनेर बस्नुपर्ने स्थिति छ : तिमिल्सिना

 भदौ ७, २०७९ मंगलबार १६:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

माेरङ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धेरैजसो पार्टीमा कहिले पुराना नेताहरूले कहिले छोड्लान् र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताउनुभएको छ । आज मङ्गलवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले अबको चुनावमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पार्टीका नेता, कार्यकर्ता कहिले पुराना नेताहरूको जीवन अन्त्य हुन्छ र टिकट पाउँला भनेर प्रार्थना गरिरहेका छन् । अब दलहरूले क्षमता, योग्यता हेरेर प्रतिनिधि अघि बढाउनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले दुर्गम ठाउँको विकासका लागि र निर्धाहरूको आवाज बनेर सङ्घीयता आउनुपर्ने बताउनुभयो । देशलाई प्रगतिपथमा कसरी अघि बढाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा अब जनतासमक्ष सैद्धान्तिक नभइ व्यवहारमा जोडिनुपर्ने उहाँको भनाइ थियो । उहाँले देशलाई गरिबीबाट धनी बनाउने, अविकसितबाट विकसित बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरू पनि सङ्घबाटै आइरहेको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना सङ्घीय सरकार मातहत हुँदा सङ्घीय सरकारमा केही बजेट बढी हुने कुरालाई स्वाभाविक रूपमा हेर्नुपर्ने बताउनुभयो । राष्ट्रियस्तर, प्रदेशस्तर र स्थानीयस्तरका आयोजनाको वर्गीकरण गरेर काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 

अध्यक्ष तिमिल्सनाले जनसङ्ख्या, भूगोल र बजेटको आधारमा योजनाहरू छुट्याउन सकिने उल्लेख गर्दै दुई प्रदेशसँग जोडिने आयोजना, जनसङ्ख्याको सीमा तोकेर समेट्ने आयोजना र बजेटको सीमा तोकेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । करोड रुपैयाँभन्दा तलका योजना प्रदेशले पालिकालाई दिनुपर्ने व्यवस्था राख्नुपर्ने उहाँको सुझाव छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया