इतिहास बने चिठ्ठी भित्र लेखेर पठाइने सन्देश र तस्बिरहरू

 भदौ ८, २०७९ बुधबार ११:३५:३० | नारायण कोइराला
unn.prixa.net

देशले काँचुली नफेरे पनि प्रविधिले भने ठूलाे फड्को मारेको छ । भन्नेहरूले समय बदलियो पनि भन्छन् । तर समय होइन यहाँ मानिसको रहन सहनमा भने परिवर्तन भएको हो ।

प्रविधिले मानिसको आनीबानीलाई पनि फेरिदिएको छ । अहिलेको समय भनेको प्रविधिसँगै अघि बढिरहेको छ । आजकाल मोबाइल नहुने मानिस नै छैनन् कि झैँ लाग्छ । प्रायः सबैको हातमा मोबाइल देखिन्छ । यसका पनि राम्रो र नराम्रो दुवै पक्ष होलान् तर जुनसुकै वस्तुको पनि सही प्रयोग भयो भने मात्र राम्रो हो । नत्र नराम्रो यो स्वाभाविक नै हो । 

अहिले प्रविधिले संसारलाई एकै ठाउँमा जोडेको छ । आजभन्दा करिब दुई दशक पछाडि फर्केर हेर्ने हो भने अहिलेजस्तो कहाँ थियो र । त्यो समय आज सम्झँदा त कथाजस्तै लाग्छ । त्यो बेलामा न त हात हातमा मोबाइल थियो न त घर घरमा फोन । कतै कतै भने ल्याण्डलाइन फोनहरू थियो ।

फोटो खिचिहाल्यो भने पनि धुलाउन सहज थिएन । खिचेको फोटो हातमा पर्दा त खुसीले खुट्टा आफैँ नाचे झैं भान हुन्थ्यो । आफ्नो फोटो आफैँले हेर्न पाउँदा मन फुरुङ्ग हुन्थ्यो । 

अहिले त प्रत्येक पल मोबाइलमा खिच्यो अनि फेसबुक लगायतका विभिन्न माध्यममार्फत पठाउन कति समय पनि कुर्न पर्दैन । तर त्यो बेलामा त यदि परिवारको कोही सदस्य परदेशमा छ भने उसको फोटो हेर्न या नयाँ फोटो उसलाई पठाउन पनि निकै सङ्घर्ष गर्न पथ्र्यों । 

त्यो बेला फोटो पठाउन भन्दा पहिला त्यसको पछाडि सन्देश लेखिन्थ्यो अथवा लेखाइन्थ्यो भनम । कसको अक्षर राम्रो होला भनेर खोजिन्थ्यो । लामो प्रयासपछि फोटो र सन्देश त तयार हुन्थ्यो । अब पठाउने एउटै विकल्प हुलाक अथवा परदेश जाने मान्छेको खोजी थियो ।

अहिलेजस्तो परदेश जाने मान्छेको घुइँचो पनि कहाँ थियो र ? खोज्नु पथ्र्यों । अर्को विकल्प हुलाक नै थियो । अब दोस्रो विकल्प नै भए पनि रोज्नु त पर्‍याे नै । हुलाक जानुभन्दा पहिला पत्र पनि लेख्नु नै पर्थ्याे । आहा कस्ता मीठा, मधुर शब्द हुन्थे त्यो बेलाका चिठ्ठीमा । अहिले जस्तो चौबिसै घण्टा मोबाइलमा कचकच नहुने भएर होला सायद ।

चिठ्ठी भित्रको फोटो बिग्रन्छ कि भनेर समाल्दै हुलाक पुग्दा चिठ्ठी पठाउनेहरुकोे लाइन लागेको हुन्थ्यो । हुलाकमार्फत पठाउँदा पनि दुई वटा विकल्प थियो । कि त रजिष्ट्री गर्नु पर्थ्याे कि त साधारण तरिकाले पठाउन पाइन्थ्यो । तर आफ्नो मानिसले सन्देश छिटो पाओस् भनेर पनि पैसा भएसम्म त रजिष्ट्री नै गर्न मन हुन्थ्यो । रजिष्ट्री गरेपछि रसिद लिएर घर फर्किँदा अर्कै रमाइलो लाग्थ्यो ।

कामना  एउटै हुन्थ्यो चिठ्ठी चाँडै पुगोस्, अनि प्रतिक्षा चाँडै जवाफ आओस् भन्ने हुन्थ्यो ।

अन्तिम अपडेट: माघ १३, २०७९

1 Comments

  • Singh raj bk

    Aug. 24, 2022, 3:10 p.m.

    म आफैले पनि त्यो समय सम्झना छ यो लेख पढ्दा पढ्दै त्यहि कल्पना मा डुबेछु

  •  0 Reply

तपाईको प्रतिक्रिया